जुम्लाको हिमा गाउँपालिका– १ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युतगृहको घर भासिँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । गए राति करिब साढे २ बजे आयोजनाको विद्युतगृहको घर भासिँदा उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा नौ वर्षीय भरत र सात वर्षीय सूर्यको मृत्यु भएको हो । विद्युतगृहका चौकीदार गोरकबहादुर रावतका श्रीमती र दुई छोराको घटनास्थलमै मृत्यु भएको भट्टले बताए । बड्की प्रहरी चौकीमा सुरक्षार्थ प्रहरी राति बत्ती किन गयो भनेर हेर्न जाँदा घर भासिएको देखेका थिए ।
मृत भेटिएका तीनैजना आयोजनाको विद्युतगृहभित्र सुतिरहेका थिए । प्रहरी चौकी बड्कीमा कार्यरत प्रहरी र स्थानीयवासी राति नै घटनास्थलमा पुगी उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीनैजनाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै छ ।