आज २०९औँ भानुजयन्ती । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनको प्रतिमामा माल्यार्पण गरेका छन् ।
प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्त आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर रहेको बताए ।
आदिकवि भानुभक्तले रामायणजस्तो मौलिक, सांस्कृतिक महाकाव्यका साथै प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा, रामगीताजस्ता काव्य र उल्लेख्य फुटकर कविताको रचना गरेर नेपाली काव्य साहित्यको बलियो जग बसालेका छन् । नेपाली भाषामा पहिलो महाकाव्य सिर्जना गर्ने उनी सबैका लागि आदरणीय व्यक्तित्व हुन् ।
आदिकवि भानुभक्तका रामायणलगायत कालजयी साहित्यिक कृतिहरू अहिलेसम्म पनि नेपाली समाजमा उत्तिकै लोकप्रिय रहेका छन् । प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति भानुभक्तको जन्मजयन्तीको अवसरमा उनलाई श्रद्धापूर्वक स्मरण गरेका छन् ।
प्रधानमन्त्री देउवाले यो दिवसले आदिकवि भानुभक्तको जीवनी र चरित्रबाट शिक्षा लिँदै सबैलाई नेपाली भाषा–साहित्यको श्रीवृद्धिमा निरन्तर समर्पित रहन प्रेरणा प्रदान गरोस् भन्दै उनीप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गरे ।