भट्टराई पक्षको गतिविधि पार्टी विधानविपरीत रहेको ठहर

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण

वीरगन्जमा जसपाको यादव पक्षको कार्यकारिणी समिति बैठक

काठमाडौंमा संघीय अध्यक्ष बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएकै दिन अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति सदस्यको बैठक वीरगन्जमा बसेको छ । मंगलबार बसेको कार्यकारिणी समिति सदस्यको बैठक बुधबारबाट सुरु केन्द्रीय समिति बैठकका एजेन्डामा छलफल भएको छ । 

बैठकले भट्टराई पक्षले गरेको बैठकलाई पार्टी विधानविपरीत गतिविधि मान्दै कारबाहीको विषय बनाउने निर्णय गरेको छ । कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले अराजक तरिकाले पार्टीको विधानविपरीत गतिविधि गर्नेलाई के गर्ने भन्नेबारे केन्द्रीय समिति बैठकमा छलफल हुने बताए । 

‘हालसम्म पार्टी विभाजन भएको छैन । पार्टी विधानविपरीत कार्य भएको देखिएकाले यस विषयमाथि थप छलफल हुन्छ । काठमाडौंमा बसेको भट्टराई पक्षको बैठक पार्टी विधानविपरीत र अराजक छ,’ उनले भने, ‘अराजक व्यक्तिहरू आफैँ पार्टीबाट निस्केर जान सक्ने वा अनुशासनभित्र बस्नुपर्ने हुन्छ ।’

कार्यकारिणी बैठकमा बैठकमा संघ र प्रदेशको निर्वाचन तयारी, संसदीय बोर्ड गठन, केन्द्रीय कार्यकारिणी समितिको पुनर्गठन र अद्यावधिक, पार्टीको विधान संशोधन गर्ने, स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात तथा संघ र प्रदेश चुनावमा तालमेललगायतका विषयमा छलफल भएको थियो । यिनै विषयमा केन्द्रीय समिति बैठकमा पनि छलफल हुनेछ । बुधबार र बिहीबार यादव पक्षको केन्द्रीय समिति बैठक वीरगन्जमा बस्दै छ ।

See More On

सुझावित समाचार