लिउले भने– विचार मिल्ने पार्टीहरू मिल्नुहोस्

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी समन्वय विभागका मन्त्री (प्रमुख) लिउ जियान्चाओले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग होटेल एभरेस्टमा भएको छलफलमा  विचार मिल्ने पार्टीहरू मिलेर अघि बढ्न सुझाव दिएका छन् । यसलाई वामपन्थी पार्टीहरूबीचको एकताका सन्दर्भमा मात्रै बुझ्न नहुने नेताहरूको भनाइ छ ।

‘उहाँले फलाना–फलाना पार्टी मिल्नुपर्छ भन्नुभएको होइन, पार्टीहरू एकताबद्ध भएर अघि बढून् भन्ने चाहना व्यक्त गर्नुभयो,’ भेटवार्तापछि अध्यक्ष नेपालले सञ्चारकर्मीसँग भने । नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको पनि नेपालको भनाइ थियो ।

अध्यक्ष नेपालले चीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप मान्य नभएको पनि बताएका थिए । ‘तिब्बत र ताइवान चीनका आन्तरिक विषय हुन् भन्नेमा हामी स्पष्ट छौँ,’ अध्यक्ष नेपालले वार्तापछि भने । लिउले यस्तो अभिव्यक्तिप्रति नेपाललाई धन्यवाद दिएका थिए ।

नेता लिउले एसपिपी अस्वीकार गर्दै राष्ट्रिय एकता कायम गरेको भन्दै नेपालका सबै नेताको प्रशंसा गरेका थिए । ‘अरू विषयमा त नाम लिएनन्, तर एसपिपीको नाम नै लिएर यो अस्वीकृत भएकोमा नेपाली नेताहरूलाई लिउले बधाई दिए,’ भेटबारे जानकार समाजवादी पार्टीका एक नेताले नयाँ पत्रिकासँग भने । नेता लिउले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेर स्वदेश फर्किनेछन् । 

See More On

सुझावित समाचार