हामी कहिले रुन्छौँ ? यस प्रश्नको उत्तर हुन्छ– दुःखमा । रुँदा पनि लयमा रुन्छौँ ? अहँ ! लयमा रुदैनौँ । तर, लिम्बू समुदायमा रुँदा पनि लयात्मक भाका गुन्जन्छ । लिम्बू समुदाय दुःखमा रुँदा पनि लयमा रुन्छ । जसलाई ‘हाम्लाक्वा’ भनिन्छ । यही संस्कृतिलाई देखाएको छ, नाटक ‘सिमिक्वा’ले । चुलाचुली रंगमञ्चले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको बहुभाषिक नाटक उत्सवमा मञ्चन गरेको नाटक हो, ‘सिमिक्वा’ । यो नाटक दमकस्थित कदम थिएटरमा ३० असारसम्म मञ्चन हुनेछ ।
मञ्चन भइरहेको ‘सिमिक्वा’ आदिम किरातकालको लोक कथा हो । ‘सिमिक्वा’ चराको नामसमेत हो । किरात लिम्बू भाषामा ‘सिमिक्वा’को अर्थ मृतक आँसु बुझिन्छ । आफन्तको मृत्युपछि परिवारका सदस्यको बिलौना हो, ‘सिमिक्वा’ । यो नाटक यही बिलौनाको भाका वरिपरि घुमेको छ । नाटकको सुरुवात पालामको भाकासँगै हुन्छ । पालाम लिम्बू जातिको लोकभाका हो । मञ्चमा देखा पर्छन्, एक वृद्ध (विक्रम फागो वनेम) । चोयाको भकारी बुन्दै गरेका वृद्धको कानमा ‘सिमिक्वा’ चराको आवाज गुञ्जन्छ । करेसाबारीमा सिमिक्वा चरा कराएमा लिम्बू समुदायले ‘अशुभ’ मान्छ । यसरी चरा कराएमा बालबालिकाको सातो जाने, बिरामी पर्ने भन्ने परम्परागत विश्वास छ । यो चराको आवाज सुनेपछि वृद्धले सिमिक्वाको किंवदन्ती सुनाउँछन् ।
रंगमञ्चमा आमाछोरीको कथा सुरु हुन्छ । छोरीको सानो गल्तीमा आमाले गाली गर्दै पिट्छिन् । जसका कारण छोरीले माङ्गेना (शिर) ढलेको महसुस गर्दै घरबाट निस्किन्छिन् । छोरी हराएपछि उनको खोजीमा आमा निस्किन्छिन् । छोरीको खोजीमै आमाको पनि चोला गुम्छ । छोरीको खोजीका क्रममा आमाले बिलौना गर्दै रुन्छिन् । जुन रुवाइ लयात्मक भाकामा हुन्छ । पूर्वी नेपालमा बसोवास गर्ने लिम्बू समुदायमा अहिले पनि दुःखमा भाकाका साथ रुने चलन छ ।
लिम्बू भाषामै प्रस्तुत नाटकले लिम्बू भाषाको संरक्षण र प्रचार मात्र गरेको छैन, संस्कार र संस्कृतिको पनि उजागर गरेको छ । नेपाली रंगमञ्चमा ‘हाम्लाक्वा’(लयात्मक रुवाइ) पहिलो भएको निर्देशक चेतन आङ्थुपो बताउँछन् । आधुनिक समाजले बिस्तारै बिर्सिंदै गरेको लिम्बू संस्कारलाई नाटकले देखाएको छ । लिम्बू भाषामा तयार पारिएको नाटकमा गैरलिम्बू कलाकार पनि छन् । लिम्बू भाषाको यो नाटकमा कलाकारको कठोर मिहिनेत देखिन्छ ।
विक्रम फागो वनेम र चेतन आङ्थुपोले संयुक्त निर्देशन गरेको नाटकमा मीना नेम्वाङ, पासाङ ल्हामु शेर्पा, मनकुमार योङहाङ, शिखर लाम्गादे, सविरन राईले अभिनय गरेका थिए । सुमन लिङ्देनले नाट्य रूपान्तरण गरेको नाटकमा हाम्लाक्वा प्रस्तुति रचना लावतीले गरेकी थिइन् । नाटकको भाषा तथा वेशभूषाको तयारी राजकुमार आङ्देम्बेले गरेका हुन् ।