एकवर्षे सरकारको कार्यकालबारे ओलीको टिप्पणी : देउवाले होइन, देश अरूले चलाएको छ

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन सरकारको एकवर्षे कार्यकालबारे कडा टिप्पणी गरेका छन् । गठबन्धन सरकारको मृत्यु भएर देश चुनावतर्फ अगाडि बढिसकेकाले अब उसैलाई बोकेर हिँड्ने कुरा देशकै लागि हानिकारक हुने ओलीको भनाइ छ ।

‘अहिलेको गठबन्धन सरकार चलेन, काम गरेन भन्ने स्पष्ट भइसक्यो, यसैलाई बोकिरहनु चाहिँ अब उपयुक्त हुँदैन । यो निष्प्राण भइसक्यो र यो हानिकारक छ, यसले हैजा फैलाउँछ । यसले समाजलाई दूषित गर्छ । प्रयोजन सिद्धिएपछि, जीवन्त नभएपछि मरेको चिज बोकेर हिँड्न यो डेड भइसक्यो, यो गठबन्धन, देशका लागि यो मृत भइसक्यो,’ सम्पादकहरूसँग पार्टी केन्द्रीय प्रचार विभागले गरेको अन्तरक्रियामा ओलीले भने, ‘मृत भइसकेपछि सतिदेवीलाई  शिवले काँधमा बोकेर हिँडदा त उनी बाँचिनन् भने यस्तो गठबन्धन बोकेर हिँड्नुको कुनै अर्थ छ ?’

‘ब्रेक नलागे देश श्रीलंकाभन्दा तल पुग्न सक्छ’
अहिलेको गठबन्धन सरकार चलेन, काम गरेन भन्ने स्पष्ट भइसक्यो, यसैलाई बोकिरहनुचाहिँ अब उपयुक्त हुँदैन । यो निष्प्राण भइसक्यो र यो हानिकारक छ, यसले हैजा फैलाउँछ । यसले समाजलाई दूषित गर्छ । प्रयोजन सिद्धिएपछि, जीवन्त नभएपछि मरेको चिज बोकेर हिँड्न डेड भइसक्यो यो गठबन्धन, देशका लागि यो मृत भइसक्यो ।


सरकारको मृत्यु भइसकेकै कारण अंग–प्रत्यांग झर्ने सिलसिला सुरु भएको दाबी गर्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामालाई अंग पतनसँग तुलना गरे । ‘एउटा अंग अस्ति झरेको देखियो । यसका अरु अंगप्रत्यांग झर्दै जान्छन् । पिठ बन्छ यसले ? भ्रष्टाचारी अंगहरू झरेर पिठ बन्छ ? त्यसकारण कुनै पिठ बन्नेवाला छैन । जहाँजहाँ यसका अंगहरू झर्छन्, त्यो ठाउँ रुखो हुन्छ, धब्बाहरू देखिँदै जानेछन्’, ओलीले भने, ‘अब त हामी चुनावमा प्रवेश गरिसक्यौं, परमादेशी सरकारको कुनै अर्थ छैन । हामी सकेसम्म सहमतिको बाटोमा जान चाहन्छौं, भएन भने देशलाई कुबाटोमा जानबाट रोक्न कोसिस गर्छौं ।’ 

गठबन्धन सरकारको एक वर्षे अवधिलाई लक्षित गर्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा शक्तिविहीन डिफ्याक्टोमा रूपमा रहेको र सरकार अरुले नै चलाए पनि देश संकट र बर्बादीको दिशामा धकेलिएको आरोप लगाए ।

‘विश्वमै नभएको, इतिहासमै नभएको परमादेशको भोलि (मंगलबार) एक वर्ष हुन्छ । त्यस सन्दर्भमा पनि राजनीतिक मूल्यमान्यता भत्काइयो । त्यसयता सरकारले गरेका कामकारवाही, यत्रायत्रा प्रदेश चलाउन जता हेर्‍यो मन्त्रीकै गाडी देखिने, जता हेर्‍यो झण्डावाला देखिने गरी मन्त्रालय बनाउनुपर्ने त्यो विकासका लागि होइन, सरकारी कामकाजका लागि होइन, जनतालाई सेवासुविधा उपलब्ध गराउन होइन । तर, मान्छेलाई मन्त्री बनाउन, जागीर खुवाउन, गठबन्धन बनाउन, टिकाउनका लागि, राष्ट्रिय हित होइन, समूहगत स्वार्थको परिपूर्तिका लागि यस्ता क्रियाकलाप हुने र भ्रष्टाचार त बेलगाम धेरै चर्चा नगरौं’, ओलीले भने, ‘सरकार कसले चलाउँछ यो दुनियाँलाई थाहा छ, तपाईंहरूलाई पनि थाहा छ, मैले किन भन्ने ? सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? त्यतापट्टि पनि जान चाहान्न । दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले चलाउनुहुन्छ कि सालोले चलाउनुहुन्छ ? त्यतापट्टि पनि जान चाहन्न । अथवा प्राइमिनिस्टरले चलाउनुहुन्छ कि ? प्रधानमन्त्री जोसुकै भए पनि रिअल पावर मै हुँ भन्नेले चलाउनुहुन्छ ? त्यतापट्टि पनि जान चाहन्न । जसले चलाए पनि चलाएको त यही न होला ।’

ओलीले एक वर्षकै बीचमा देशको अर्थतन्त्र संकटग्रस्त बनेको टिप्पणी गर्दै भने, ‘वैदेशिक मुद्राको सञ्चिती छैन, देशमा संकट छ, आयात गर्न सकिरहेका छैनौं । नयाँ कुनै काम थाल्नका लागि बैंकले रकम दिँदैन, ठेकेदारले गरिसकेका कामको भुक्तानी पाउँदैन, नयाँ कुनै आयोजना सुरु गर्न सकिने अवस्था छैन । विकास निर्माणका लागि चाहिने उपकरण, उद्योग खोल्न उपकरण चाहिन्छ, आयात गर्न रकम छैन । उत्पादन बढाउन लगानी बढाउनुपर्छ, लगानी गर्ने रकम छैन । यस्तो अवस्थामा हामी छौं । यो कसरी भयो ?’

‘अधोगतिमा ब्रेक नलागे देश श्रीलंकाभन्दा तल पुग्छ’ 
ओलीले अनाधिकृत व्यक्तिलाई संलग्न गराएर बजेटमा लुटपाट मच्चाइएको र अर्थतन्त्र संकटमा परेका बेला हतियार खरिद अगाडि बढाएर देशलाई श्रीलंकाकै तहमा पुर्‍याउन खोजिएको आरोपसमेत लगाए । 

‘बजेट निर्माणमा अनाडी मान्छेहरू संलग्न हुने, व्यापारीका प्रतिनिधिहरू सेटिङअन्तर्गत त्यसभित्र लाभको हिसाबकिताब जोडघटाउअन्तर्गत कर दर, अन्तशल्क, छुट दिने कुराहरूसँग सम्बन्धित भएर अनाधिकृत मान्छेहरू ल्याएर राष्टिय बजेटलाई । वास्तवमा अर्थतन्त्रलाई नै ध्वस्त पार्नेगरी, अवान्छित शक्ति तत्वहरूको हात घुसाउने काम गराइयो । यो न हतियार खरिद रक्षा मन्त्री वा अर्थमन्त्रीले मात्र गर्नसक्छ’ ओलीले भने, ‘न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले मात्र गर्नसक्छ । अर्थमन्त्री एउटैको मात्र पनि त्यो चल्दैन र अर्थमन्त्रीको सम्बन्धमा, पृष्ठपोषणमा, अथवा हतियार खरिद प्रकरणमा या अरु प्रकरणमा चलाईने गरिएका कुराहरू, पृष्ठभागबाट गरिएको टेकोले यो विषय त्यति सहज छैन भन्ने देखाउँछ । त्यसको प्रभाव कम्तिमा हामी श्रीलंकामा पुग्ने नै लक्षण देखिन्छ । त्यो भन्दा अघि बढ्न पनि बेर छैन । यही ढंगले जाने हो र यदी यस अधोगतिमा ब्रेक लगाइएन भने कम्तीमा श्रीलंकामा पुग्छ, अद्योगतिमा ब्रेक नलगाउने हो भने त्यो भन्दा उद्यो खस्न सक्छ । त्यसकारण सतर्क हुनुपर्ने देख्छु ।’ 

प्रदेश संरचनाबारे जवाफ : संविधान बनाउँदा विचार गर्न सकिएन, असफल भए राष्ट्रिय सहमति बन्छ 
ओलीले संविधान निर्माणका बेला तीन तहको संघीय संरचनाबारे देशको सामाथ्र्यले धान्न सक्ने÷नसक्ने विषयमा लामो छलफल र बहस गर्न नसक्नु कमजोरी भएको स्वीकार गरे । तर, त्यतिबेला कमजोरी भएकै थियो भन्ने निष्कर्षमा पुग्ने बेला नभइसकेको भन्दै प्रदेश सरकारहरू असफल सावित भए सच्याउनका लागि राष्ट्रिय सहमति बन्ने अबस्था आउने भन्दै कुटनीतिक जवाफ फर्काए ।

‘हामीले संविधान बडो मुस्किलले ल्यायौं । त्यतिबेला हामीले विचार गर्नुपथ्यों, विचार गर्न पाएनौं, विचार गर्न सकेनौं । यहाँ पहिचानका नाममा सम्प्रादायिकता भड्काएर रुवाण्डा बनाउन खोजियो । राष्ट्रिय एकता, सामाजिक सद्भाव र विविधितालाई भड्काएर द्वन्द्वको विषय बनाउन खोज्ने प्रयास भए । १५ वटा, २५ वटा राज्य बनाउने जस्ता पृथकतावादी कुरा गरिए तर विषाक्त कुरालाई सहेर पनि लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने हाम्रो काँधमा जिम्मेवारी थियो । त्यो जिम्मेवारी बहन गर्दा धेरै कुरामा समुचित ध्यान पुर्‍याउन सकिएन,’ ओलीले भने, ‘एक तहसम्म इमान्दार कार्यान्वयनको कोसिस गर्नुपर्छ, विसंगति हटाउने, सफल बनाउने कोसिश गर्नुपर्छ । आग्रहवश होइन कि हामीले सफल कि असफल बनाउन चाहने ? बनाइसक्न पाएको छैन, असफल भयो भनेर विरुद्ध लाग्न थाले कसरी सफल हुनसक्छ ? सफल नहुने हो भने त सफल हुन सक्दैन । सफल बनाउन सकारात्मक ढंगले कोसिस गर्नुपर्छ । व्यबहारमा सफल हुन सकेन भने फेरि राष्ट्रिय सहमति बन्छ, सोच्न सकिन्छ ।’ 

सुझावित समाचार