प्रायजसो भदौको हरितालिका तिजदेखि सामान्य तह मेला महोत्सव चल्ने गर्छन्। आफ्नो संस्कृति संरक्षणका लागि होस् वा उद्योग व्यापारको प्रवर्धननका लागि यस्तै उद्देश्यका साथ मेला महोत्सव सञ्चालन गर्ने गरिन्छ। बाग्लुङको ताराखोला गाउँपालिकामा भने खेतीपाती भ्याएर मध्यबर्खामा असारे मेला लाग्ने गर्दछन्।
कोरोना महामारीका कारण विगत दुई वर्षसम्म रोकेको परम्परागत मेला यसपालि भव्यताका साथ सञ्चालन गरियो। हरेक वर्ष असार तेस्रो मंगलबारदेखि यहाँ ‘असारे’ मेला लाग्छ। यस वर्ष पनि असार २२ गतेदेखि २६ गतेसम्म मेला सञ्चालन भएको हो।
तरामी मगरको पुस्तैनी मेला ‘असारे’ रहेको छ। खुसी साट्ने, मीठो–मसिनो खाने, प्रकृति र देउता पुज्ने पर्वका रूपमा ताराखोलाका रैथाने मगर ‘असारे मेलालाई लिन्छन्। पहिले असारे भनेर प्रचलित भए पनि नयाँ पुस्ताले ‘असारे मेला’का रूपमा विकसित गराएका छन्।
डोल्पाको ताराभोटबाट आएका पूर्वजले असारेको चलन बसालेको उनीहरूको भनाइ छ। मेलामा पुर्ख्यौली परम्परादेखि पूजाआजा गर्ने, बली चढाउने गरिन्छ। तारागाउँमा रहेको ढुंगामा राँगोको बली दिने गरिन्छ। अघिल्लो दिन गहुँ, चामलको रोटी खाने र भोलिपल्ट मंगलबार बूढापाकाले लठ्ठो बाट्ने, युवाले पिङ राख्ने चलन रहेको छ। तन्नेरीले पिङ बाट्छन्, खाजा (रोटी) बनाउँछन्।