शव फेला परेको एकसातासम्म पनि भएन बालकको सनाखत

आइतबार, २६ असार, २०७९
डिजिटल संस्करण

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित सागरनाथ जंगलमा फेला परेको शिशुको शव अझै सनाखत हुन सकेको छैन । गत सोमबार ईश्वरपुर नगरपालिका–१३ स्थित सागरनाथ जंगलमा टाउको देखिने गरी गाडिएको अवस्थामा अन्दाजी १८ महिनाको बालककोे शव फेला परेको थियो । उक्त शिशुको शव निकै प्रयास गर्दा पनि सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय केश्वरगंजले जनाएको छ । 

गत २० गते साँझ बस्तु चराउन गएका गोठालाले टाउको बाहिरै देखिने गरी गाडिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्कासहित बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएको छ । बालकको सनाखत हुन नसक्दा परीक्षणसमेत हुन नसकेको इलाका प्रहरी कार्यलय केश्वरगन्जले जनाएको हो । 

प्रहरीका अनुसार मृतक बालकले मोटु पत्लुको चित्र अंकित पिंक कलरको हाफ टिसर्ट र जिन्सको पेन्ट लगाएका छन् । सर्लाही प्रहरीले घटनाको अनुसन्धान चलिरहेको भन्दै बालकको पहिचानमा सहयोग पुर्याइदिन सम्पूर्णमा अनुरोधसमेत गरेको छ । घटनाको विषयमा कुनै पनि सूचना भए ९८५४०९००६१ वा ९८५४०९०१९६ मा सम्पर्क गरी जानकारी गराइदिन इलाका प्रहरी कार्यलय केश्वरगन्जले अनुरोध गरेकाे छ ।

सुझावित समाचार