जापानको नारा भन्ने ठाउँमा चुनावी भाषण गरिरहेका त्यहाँका पूर्वप्रधानमन्त्री आबे सिन्जोको हत्याको घटना स्तब्धकारी एवं मथिंगल हल्लाउने खालको छ । स्तब्धकारी किन छ भने जापानमा करिब ५० वर्षमा सम्भवतः कुनै पनि किसिमका राजनीतिक हिंसा भएका थिएनन् र त्यसमाथि जापानमा बन्दुकको स्वामित्वसम्बन्धी कानुन एकदमै कठोर छ । यो घटना मथिंगल हल्लाउने खालको किन छ भने आबेले प्रधानमन्त्री पद सन् २०२० मै त्यागेका हुन् र उनी औपचारिक रूपमा सरकारी ओहदामा छैनन्, यद्यपि हत्या निःसन्देह राजनीतिक बनेको छ ।
आबेको हत्याले १० जुलाईमा हुने जापानको काउन्सिलर सभा (जसमा माथिल्लो तत्पश्चात् तल्लो सदन) को चुनावलाई खासै फरक पार्नेवाला छैन, किनभने सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले चुनाव जित्ने लगभग पक्कापक्की छ । एलडिपीका पूर्वनेता एवं पूर्वप्रधानमन्त्रीको हत्याले बरु केही सहानुभूति मत थप्न सक्छ, तर त्यसभन्दा पनि ठूलो यो घटनाले हिंसाबाट मूलतः टाढा रहेको जापानलाई स्तब्ध एवं छिन्नभिन्न बनाइदिएको छ ।
आबेको राजनीतिक विरासत उनको कीर्तिमानी प्रधानमन्त्रीकालबाट आएको छ । उनको प्रधानमन्त्रीकाललाई दुई खण्डमा विभाजित गर्न सकिन्छ । पहिलो काल– सन् २००६ देखि २००७ का दौरान उनको प्रधानमन्त्री कार्यकाल असफल रह्यो, तर त्यसपछि उनी सन् २०१२ देखि २०२० सम्म सफल रूपमा प्रधानमन्त्रीका पदमा रहेका थिए । र, यी आठ वर्ष घरेलुभन्दा पनि अन्तर्राष्ट्रिय एवं सुरक्षा नीतिका लागि महत्वपूर्ण साबित भएको थियो । निःसन्देह आबे आफ्नो आर्थिक एजेन्डाको एक कुशल बिक्रीकर्ता हुन् । उनको आर्थिक नीति उनले सिर्जना गरेको ‘आबेनोमिक्स’ अर्थात् ‘आबे अर्थतन्त्र’को ब्यानरमुनि सफल भएको थियो । त्योभन्दा महत्वपूर्ण उनको योगदान परराष्ट्र नीति थियो, जुन रूपान्तरणकारी थियो ।
आबेले जापानी परराष्ट्र नीतिलाई स्पष्ट, सामथ्र्यवान् एवं विश्वासिलो बनाएका छन् र यसमा आबे लामो समयसम्म प्रधानमन्त्री हुनुले पनि भूमिका खेलेको छ । एसियाको सुरक्षा र कूटनीतिक रणनीतिलाई जनाउने चर्चित शब्दावली ‘इन्डो–प्यासेफिक’को श्रेय उनैलाई जान्छ । ‘इन्डो–प्यासेफिक’अन्तर्गत आबेले जापानको भारतसँग बलियो सम्बन्ध बनाउने पूर्ववर्ती योजना अगाडि बढाएर मुलुकको स्थानलाई क्षेत्रीय एवं वैश्विक रूपमा पुनर्निर्माण गरी सामथ्र्यवान् बनाएका थिए ।
आबेको परराष्ट्र नीति चीनको उदय र साउथ एवं इस्ट चाइना सी क्षेत्रमा चीनको बढ्दो प्रभाव एवं आक्रामक भाष्यका दौरान बनेको हो । आबेको कार्यकालमा जापानले आफ्नो रणनीतिक एवं कूटनीतिक क्षेत्रलाई यसरी बलियो बनाएको थियो, जसले चीनको वर्चस्वलाई चुनौती दिएको थियो । भारतसँगको सम्बन्ध सुदृढीकरण पनि उल्लिखित रणनीतिमै पथ्र्यो, त्यसैगरी रणनीतिमा जापानी सेनालाई बलियो बनाउनु पनि रहेको थियो । आबे सेनाले जापानको अग्रणी साझेदार अमेरिकासँग महत्वपूर्ण भूमिका निभाओस् भनेर सेनाको मामिलामा संविधान संशोधनको माग गर्ने अग्रणी नेता थिए ।
आबे निसंकोच एक राष्ट्रवादी नेता थिए । युद्धको समयमा जापानको इतिहासबारे केही हदसम्म संशोधनवादी विचारका साथ उनी पहिलोपटक विवादास्पद बने, विशेषतः ‘कम्फर्ट वुमन’को कुख्यात विषय सतहमा आएपछि । स्मरण रहोस्, ‘कम्फर्ट वुमन’ भनेका ती महिला हुन्, जसलाई साम्राज्यवादी कालका जापानी सेनाले आफूले कब्जा गरेका मुलुकमा यौनदासी बनाएका थिए । तर, पदभार ग्रहण गरेपछि उनले आफ्ना विचारमा सुधार ल्याएका थिए । यसबाहेक उनले जापानको सबैभन्दा विवादास्पद छिमेकी एवं पूर्व–उपनिवेश दक्षिण कोरिया र अन्य दक्षिणपूर्व एसियाका राष्ट्रसँग सम्बन्ध सुदृढ बनाएका थिए । तर, चीन–जापान सम्बन्ध बारम्बार तनावपूर्ण थियो, विशेषतः जब आबेले जापानको विवादास्पद यासुकुनी स्राइनको भ्रमण गरेका थिए । यति हुँदा पनि चीन र जापानबीच संवाद भने टुटेन ।
एक्लो हत्याराको हत्याको नियत पत्ता लगाउन गाहै्र हुन्छ । आबेको हत्याको अभियोगमा गिरफ्तार भएका ४१ वर्षीय तेत्सुया यामागामीले घरमै बनेको सटगन (हतियार) प्रयोग गरेको देखिन्छ । राजनीतिक कार्यक्रमका मामिलामा जापान विश्वमै सबैभन्दा सुरक्षित मानिने अवस्थामा र त्यसमा पनि आबे पूर्व–प्रधानमन्त्री हुनुले हत्या गर्न सहज भएको देखिन्छ । विभिन्न सञ्चारमाध्यमका अनुसार यामागामीले सन् २००५ सम्म तीन वर्षका लागि जापानको जलसेनाको समुद्री आत्मरक्षा बलमा काम गरेका थिए । आबेले सेना बलियो बनाउने गरी संविधानको निःशस्त्रीकरणको धारा ९ लाई हटाउने र त्यसमा यामागामीको पृष्ठभूमि हेर्दा मुलुकको सैन्य नीतिमा परिवर्तन गर्न नसकेको विरोधस्वरूप हत्या प्रयास गरेको हुन सक्ने देखिन्छ ।
सरकारमा पदबहाल नभए पनि आबे सैन्य मामिलामा जापान अगाडि आउनुपर्छ भनेर मुखर रूपमा पैरवी गर्ने एक प्रभावशाली व्यक्तित्व थिए । यस अवस्थामा आबेले आफ्ना हजुरबुबा नोबोसुके किसी (जो सन् १९६० मा जापानका प्रधानमन्त्री भएका थिए) को कामलाई निरन्तरता दिने अठोट बोकेका थिए । किसीले अमेरिकासँग भएको सुरक्षा सन्धिलाई संशोधन गरेका थिए, जहाँ उनको उद्देश्य जापानी रक्षा प्रणालीलाई बलियो बनाउनु थियो । संयोग नभए पनि दुर्भाग्य, संशोधित सुरक्षा सम्झौता अनुमोदन भएको केही समयपछि आक्रमणकारीले किसीलाई ६ पटक छुरा प्रहार गरेका थिए र किसी हिंस्रक आक्रमणको अनुभव गर्ने अन्तिम जापानी प्रधानमन्त्री बनेका थिए र अहिले आबे सिकार बने । तर, हजुरबुबा किसी बाँच्न सफल भएका थिए भने आबे बाँच्न सकेनन् ।
(प्रोजेक्ट सिन्डिकेटबाट-इमोट द इकोनोमिस्टका पूर्वप्रधानसम्पादक हुन्।)