४० विद्यार्थीको नतिजा सार्वजनिक गर्न नौ महिना
नेपाल खुला विश्वविद्यालयमा परीक्षा समयमा नहुने र नतिजासमेत समयमै नआउने जस्ता समस्या बढ्दै गएको छ । पद बाँडफाँड नमिल्दा झन्डै वर्षदिनसम्म पनि सबै डिन पद रिक्त छन् भने ४० विद्यार्थी भएका विषयमा समेत नतिजा निकाल्न नौ महिना लाग्ने अवस्था छ ।
विश्वविद्यालयका तीन संकाय कुनैमा पनि डिन छैनन् । व्यवस्थापन र कानुन संकाय, सामाजिकशास्त्र र शिक्षा संकायको डिन गत भदौदेखि रिक्त छ । त्यसैगरी विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायमा गत माघदेखि डिनको पद रिक्त छ । संकाय परीक्षाको प्रमुख हुने डिन नभएपछि परीक्षा तथा नतिजामा ढिलाइ हुने गरेको छ ।
डिन नहुँदा विश्वविद्यालयको काम प्रभावित भएको छ । संकाय परीक्षा समितिको अध्यक्ष डिन हुने व्यवस्था छ । कार्यकारी परिषद्मा एकजना डिन सदस्यका रूपमा रहने व्यवस्था छ । त्यसैगरी, प्राज्ञिक परिषद्मा डिनहरू रहने व्यवस्था छ । तर, लामो समयसम्म डिन नहुँदा शैक्षिक कार्यक्रम, विभिन्न विषयको कोर्स निर्माण, संशोधनलगायका काम हुन सकेका छैनन् ।
शैक्षिक कार्यक्रममा प्रत्यक्ष जोडिने डिन नहुँदा एकदमै न्यून विद्यार्थी भएका संकायको नतिजा आउनसमेत झन्डै वर्षदिन लाग्ने गरेको छ । विद्यार्थीका अनुसार गत भदौमा सम्पन्न भएको स्नातक तहको दोस्रो र तेस्रो वर्षको परीक्षाको नतिजा नौ महिनामा सार्वजनिक भएको छ । एउटा वर्षमा कतै ४० र कतै ६० जना मात्रै विद्यार्थी भएका विषयको नतिजा आउनसमेत विद्यार्थीले लामो समय कुर्नुपर्ने बाध्यता छ । स्नातक तहका एक विद्यार्थीले भने, ‘विद्यार्थी थोरै भए पनि प्रभावकारी रूपमा काम नहुँदा लामो समयसम्म पर्खिनुपर्यो ।’
खुला विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र एमफिल तहमा कार्यक्रम सञ्चालन गरेको छ । संकायअन्तर्गत दर्जनभन्दा बढी विषयको पढाइ भइरहेको छ । नियमित रूपमा क्याम्पसमा गएर अध्ययन गर्नबाट वञ्चित भएकालाई शैक्षिक तथा पेसागत रूपमा अगाडि बढाउने उद्देश्यले ०७३ मा खुला विश्वविद्यालय स्थापना भएको थियो ।
रजिस्ट्रार गोविन्द विष्ट भन्छन्–छिट्टै डिन नियुक्त गर्छौँ
संकाय परीक्षा समितिको अध्यक्ष डिन हुने व्यवस्था छ । डिन नियुक्तिका लागि छलफल गरेका छौँ, अब छिट्टै काम गर्छौँ । केन्द्रीय परीक्षा समितिको संयोजक रजिस्ट्रार भए पनि त्यसमा पनि डिन सदस्य हुने व्यवस्था छ । डिन नहुँदा केही समस्या भएको छ । म नियुक्त भएर आएको पाँच–छ महिना भयो, मैले डिनको काम गरिरहेको छु । परीक्षाको नतिजामा केही समय लाग्नुका अरू कारण पनि छन् । अनलाइनबाट परीक्षा भएको र भेरिफिकेसनमा पनि कठिन भयो । चुनाव, कोभिडलगायतले समस्या भएको थियो, अब समस्या रहँदैन ।