स्वास्थ्य राज्यमन्त्रीद्वारा क्यान्सर अस्पतालको अनुगमन

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अनुगमन गरेका छन् । शुक्रबार मन्त्री केसीले खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन गरेका हुन् । 

अनुगमनका क्रममा राज्यमन्त्री केसीले अस्पतालको पूर्वाधार विकासका लागि आफूले पहल गर्ने बताए । उनले भने, ‘अस्पतालले आमनागरिकलाई सहज तरिकाले सेवा उपलब्ध गराएको छ । यो विषय राम्रो पक्ष हो । अस्पतालको प्रशासनिक भवनका लागि बजेट व्यवस्थापनका लागि पहल थाल्छु।’

सो अवसरमा अस्पताल प्रशासनले राज्यमन्त्री केसीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । पत्रमा अस्पतालमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न माग गरिएको छ । अस्पतालको प्रशासनिक भवनका लागि बजेट व्यवस्थापन आवश्यक भएको, अस्पताललाई आवश्यक मेसिनरी औजारहरूका लागि उचित बजेट व्यवस्थापन गर्न माग गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

मन्त्रिपरिषद् विधेयक समितिको २०७३ चैत ३ गतेको बैठकबाट सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति गठन आदेश, २०७३ स्वीकृत भएको हो ।

सुझावित समाचार