नेपाल एसबिआई बैंकले स्थापनाको २९औँ वार्षिकोत्सवको अवसर पारेर कर्मचारीको भर्चुअल शपथग्रहण कार्यक्रम गरेको छ । बैंकले गरेको भर्चुअल शपथग्रहण समारोहमा कर्मचारीहरूले बैंकको विकासका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिबारे प्रकाश पारेका थिए । बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए ।
बैंकका डेपुटी सिइओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा पुर्याएको योगदानलाई अहिलेजस्तै निरन्तरता दिन आग्रह गरे । प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तले सबै सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै, बैंकले भर्चुअल सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको थियो । यसमा सबै शाखा कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । उनीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
हाल बैंकले देशभरमा ९१ शाखा, २१ एक्सटेन्सन काउन्टर, सात प्रदेश कार्यालय, नौ शाखारहित बैंकिङ सेवा, एक सय २९ एटिएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।