नेपाली र अंग्रेज फौजको सम्झनामा सिन्धुलीगढीमा समाधि पार्क बनाउन पहल

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण

अंग्रेज फौजसँग २५५ वर्षअघि सिन्धुलीगढीमा लडाइँ भएको स्मरण गर्दै नेपाली र अंग्रेज सेनाको सम्झनामा समाधि पार्क बनाउने पहल सुरु भएको छ। कमलामाई नगरपालिकाले सिन्धुलीगढी युद्धमा ज्यान गुमाएका तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाली सैनिकको सम्झनामा दुईवटा अलग-अलग समाधि पार्क बनाउन पहल थालेको हो। 

विसं १८२४ असोज १५ गते सिन्धुलीगढीमा भएको युद्धमा नेपाली फौजसँग अंग्रेजी फौज पराजित भएर फर्किएको थियो। कप्तान किनलोकको नेतृत्वमा इस्ट इन्डिया कम्पनीको फौज त्यतिवेला सिन्धुलीगढीमा आएको थियो। युद्धमा पराजित भएपछि कप्तान किनलोकमाथि कोर्ट मार्सल भएको थियो। करिब २४ सय फौज आएकोमा १६ सय फौज युद्धका क्रममा मारिएका थिए। सिन्धुलीगढीका अध्येता सागरकुमार ढकालका अनुसार नेपाल आएकामध्ये ५० जनाभन्दा कमको संख्यामा बेलायती थिए भने बाँकी भारतीय सैनिक थिए। उनीहरू काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्ललाई गोर्खालीविरुद्ध लडाइँमा सघाउन आएका थिए। 

‘नेपाल एकीकरणका क्रममा बेलायती फौज हारेर फर्केको एक मात्र ठाउँ सिन्धुली गढी हो,’ सिन्धुलीगढीका अध्येता एवं कमलामाई नगरपालिका वातावरण विभाग प्रमुख ढकालले नयाँ पत्रिकासँग भने, ‘त्यहाँ मृत्यु भएका नेपाली र अंग्रेज फौजको सम्मानमा ढुंग्रे भन्ज्याङभन्दा तल दुईवटा समाधि पार्क बनाउने विषयमा हामीले प्रयास थालेका छौँ, नेपाल र इस्ट इन्डिया कम्पनीको झन्डासहितको समाधि पार्क निर्माण गर्ने प्रयास भइरहेको छ।’

इतिहासअनुसार मकवानपुरका राजा शुभसेनका पालामा उनका छोरा माणिक्य सेनले १७६२ मा सिन्धुलीगढी निर्माण गरेका थिए। गढी सन् १८१९ मा गोर्खाली सेनाले कब्जा गरेर नेपालमा गाभेका थिए। त्यहाँ ठूलो र सानो गढी छन्। दुई गढीको बीच भागमा राजा पृथ्वीनारायण शाहले विजययुद्धपछि सेनाहरू बस्न काठ र खरको छानो राखेर घर बनाएका थिए। पछि उक्त ठाउँ बडाहाकिम कार्यालय भएको थियो।

विसं १८७३ मा सुरु भएको नेपाल अंग्रेज यूद्धको समयमा सिन्धुलीगढीको सामरिक महत्व बुझेर तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले सिन्धुलीगढीमा एउटा स्थायी सैन्य छाउनीको व्यवस्था गरेका थिए। विसं १८८६ माघमा थापाकी पत्नी भक्तकुमारी देवीसहित सिन्धुलीगढीमा आएर गारद सलामी लिएका थिए। 

अध्येता ढकालका अनुसार १८२४ असोज १३ गते अंग्रेजका फौज गढीसम्म आएको इतिहास छ। ‘विसं १८२४ असोज १४ मा लडाइँ भएको थियो। स्थानीय ढनामना खोलातिरबाट अंग्रेजी सैनिक आएका थिए, सोला भन्ज्याङतिरबाट फर्केर कोही पटना पुगे, कोही हरिहरगढी पुगेको इतिहासमा उल्लेख छ,’ ढकालले भने।

सिन्धुलीगढीमा प्रधानसेनापति पूर्णचन्द्र थापाको समयमा सेनाको सक्रियतामा सिन्धुलीगढी युद्ध संग्रहालय निर्माण भएको छ। सेनाले साढे चार करोड र कमलामाई नगरपालिकाले अढाई करोड रुपैयाँ खर्च गरेर युद्ध संग्रहालय बनेको छ। गढीमा नेपाल एकीकरणका अभियन्ता श्रीहर्ष पन्त, वीरभद्र उपाध्याय, वंशाज उपाध्याय, वंशु गुरुङको सालिक छ।

सिन्धुलीगढी घुमेर हेर्दा गीतका गायक कृष्णविक्रम थापाको सालिक पनि त्यहाँ राखिएको छ। ढकालले भने, ‘सिन्धुलीगढी युद्ध संग्रहालय बनेपछि र चर्चा भएपछि बेलायतका अनुसन्धाताहरूले पनि चासो दिएका छन्।’

बडाहाकिम संग्रहालय पनि बन्दै
विसं १९७५ सालमा  तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा सिन्धुलीगढीका कर्णेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेनाहरू बस्न १४ वटा ढोका, ५६ वटा झ्याल, टिनको छाना र सिमेन्ट र इँटाको पर्खालसहित दुई तले दरबार निर्माण भएको थियो। गढीका कर्णेल पुष्करविक्रमको समयमा दरबार निर्माण सम्पन्न भएको थियो। सिन्धुली गढी र दरबार गरी कुल क्षेत्रफल करिब ३ हजार वर्गमिटर छ। 

‘हामी बडाहाकिम संग्रहालय बनाउँदै छौँ, रानी दरबारलाई पनि डेकोरेसन गर्दै छौँ,’ ढकालले भने, ‘गढीको प्रवेशमा पनि पुरानो शैलीको बाटो बनाउँदै छौँ, त्यसका लागि २२ लाख रुपैयाँ बजेटको व्यवस्था भइसकेको छ ।’ 

सुझावित समाचार