लामो समयदेखि रिक्त रहेका न्यायाधीश पदमा छिटो नियुक्तिका लागि कर्मचारी संगठनले ध्यानाकर्षण गराएका छन् । सर्वाेच्च अदालतका चार कर्मचारी संगठनले मंगलबार संयुक्त विज्ञप्ति निकाली न्यायपरिषद् पदाधिकारी, न्यायसेवा आयोग र सर्वाेच्च अदालत व्यवस्थापनलाई ध्यानाकर्षण गराएका हुन् ।
‘सबै तहका अदालतहरूमा ठूलो संख्यामा रिक्त न्यायाधीश, संविधान, ऐन–कानुनबमोजिमको समयमा न्यायाधीश नियुक्तिका लागि सिफारिस नगरेका कारण अदालतमा मुद्दाको चाप बढ्नुका साथै जनताले पाउने न्यायको हकमा अत्यन्तै ढिलाइ हुन गएको साथै न्यायसेवा न्याय समूहका कर्मचारीहरूको वृत्तिविकास (बढुवा) ठप्प भई कर्मचारी लामो समयदेखि एउटै तहमा न्यून मनोबलका साथ काम गर्नुपरेको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ, ‘न्यायपरिषद्ले नियमित रूपमा संविधानबमोजिम पूरा गर्नुपर्ने दायित्व समयमा पूरा नगरेकै कारण न्यायिक जनशक्तिको मनोबल ह्रास भई न्यायिक काममा समेत नकारात्मक प्रभाव परेको प्रस्टै छ ।’
असार मसान्तभित्र कम्तीमा जिल्ला न्यायाधीश नियुक्ति सिफारिस गर्न कर्मचारी संघ–संगठनले माग गरेका छन् । माग समयमा पूरा नगरेमा र सो अवधिभित्र कम्तीमा पनि जिल्ला न्यायाधीश नियुक्ति सिफारिस नगरिएमा चरणबद्ध विराेधका कार्यक्रम अगाडि बढाइने राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि भट्टराईले बताए ।