फेरि बढ्यो कोरोना संक्रमण

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

सोमबार ४० मा संक्रमण पुष्टि भएकोमा मंगलबार एकै दिन ९० जनामा कोरोना

केही दिनयता कोरोना संक्रमण पुनः बढ्न थालेको छ । सोमबारको तुलनामा मंगलबार दोब्बर संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४० मा संक्रमण पुष्टि भएकोमा मंगलबार एकै दिन ९० जनामा कोरोना देखिएको छ ।

एक सातायता दैनिक संक्रमण ४० भन्दा बढी छ । कोरोनाका कारण हुने मृत्युदर हाल शून्य रहे पनि संक्रमण भने बढ्ने क्रममा छ । देशभर सक्रिय संक्रमितको संख्या चार सय एक पुगेको छ । 

नेपालमा पनि ओमिक्रोनको सबभेरियन्ट ‘बिए डट फाइभ’ देखिएका कारण संक्रमण पुनः बढेको अनुमान गरिएको छ । तर, नेपालको प्रयोगशालामा सामान्य पिसिआरको माध्यमबाट मात्रै परीक्षण गरिएकाले नयाँ प्रजातिको एस जिन पत्ता लगाउन सम्भव नभएकाले नयाँ भेरियन्ट नै फैलिएको भन्ने यकिन नभएको चिकित्सकहरूले बताएका छन् ।

ओमिक्रोनका सबभेरियन्ट विश्वभर नै देखिइरहेका कारण जटिल खालको नयाँ भेरियन्ट जन्मिन सक्ने जोखिम अझै नटरेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘अझै पनि साना बालबालिकालाई खोप लगाइएको छैन । जोखिममा रहेका अन्य समूहमा पनि खोप लगाए वा नलगाएकोबारे अध्ययन गरिएको छैन । खोपको आवश्यकता भएकाको अध्ययन गरेर खोपको प्रयोगमा ध्यान दिन आवश्यक देखिएको छ,’ उनले भने ।

नेपालमा हालसम्म ओमिक्रोनका सबभेरियन्टमध्ये बिए १.१, बिए २, बिए २.३, बिए २.१.२, बिए ४, बिए ५ पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । 

जोखिम टरेको छैन : शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ
साना बालबालिकालाई खोप लगाइएको छैन । जोखिममा रहेका अन्य समूहमा पनि खोप लगाए वा नलगाएकोबारे अध्ययन गरिएको छैन । खोपको आवश्यकता भएकाको अध्ययन गरेर खोपको प्रयोगमा ध्यान दिन आवश्यक देखिएको छ । ओमिक्रोनका सबभेरियन्ट विश्वभर नै देखिइरहेका कारण जटिल खालको नयाँ भेरियन्ट जन्मिन सक्ने जोखिम अझै टरेको छैन ।

१२ वर्षमाथिका ९९.९ प्रतिशतले लगाए पहिलो मात्रा खोप, पूर्ण मात्रा लगाउने ८७.४ प्रतिशत 
सरकारले पाँच वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १२ वर्षमाथिका लक्षित जनसंख्याको ९९.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । यो समूहमा ८७.४ प्रतिशतले भने पूर्ण मात्रा लगाइसकेका छन् । पाँच वर्षदेखि १२ वर्ष उमेर समूहमा भने हालै खोप अभियान चलेको छ ।

२७ जिल्लामा पहिलो चरणको खोप कार्यक्रम सकिएको छ । ९ देखि १५ असारसम्म सञ्चालन भएको अभियानमा ९० प्रतिशतभन्दा बढी लक्षित बालबालिकाले खोप लगाएको खोप शाखाले जनाएको छ । यी जिल्लाको दोस्रो चरणको खोप २ साउनदेखि लगाइनेछ । बाँकी ५० जिल्लामा भने ५ देखि ११ भदौसम्म पहिलो मात्रा र २७ भदौदेखि १ असोजसम्म दोस्रो मात्रा दिने तयारी छ ।

देशभर पाँचदेखि १२ वर्ष उमेर समूहका ४० लाख बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ । हालसम्म देशभर कुल चार करोड ६९ लाख ९९ हजार ६ सय ६ डोज खोप प्रयोगमा आइसकेको छ ।

सुझावित समाचार