रामेछाप बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो, नाैजनाको सनाखत

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण

रामेछापमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। उपचारका क्रममा काभ्रेस्थित धुलिखेल अस्पतालमा थप चारजनाको मृत्यु भएसँगै मृतकको संख्या १३ पुगेको हो।

रामेछापको सुनापती गाउँपालिका– ३ हिलेदेवीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ख ८३९६ नम्बरको यात्रुबाहक बस खाँडादेवी गाउँपालिका– १ लुभुघाटमा आज बिहान दुर्घटना भएको थियो। बस सडकको मोडबाट करिब सय मिटर तल खस्दा नौजनाको घटनास्थलमै मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए।

घाइतेमध्ये तीनजनालाई हेलिकोप्टरमार्फत र बाँकी २१ जनालाई एम्बुलेन्स र जिपमार्फत धुलिखेल लगिएकोमा थप चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सामान्य घाइते भएकाहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ ।

उक्त बसमा कति यात्रु सवार थिए र के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन। घटनास्थलमा ज्यान गुमाउने सबैको सनाखत भएको छ। मृत्यु हुनेहरूमा सुनापती गाउँपालिका– ५ रामेछापका ६० वर्षीय ठूलो तामाङ, सुनापति– ४ की २६ वर्षीया समिता तामाङ, सुनापति– ५ का ६५ वर्षीय खटबहादुर विक, २२ वर्षीया विपना तामाङ र ३५ वर्षीया सन्जु आलेमगर रहेका छन्।

त्यसैगरी, काभ्रेको रोसी गाउँपालिका– ४ का २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका– ८ का १८ वर्षीय सुदीप बस्नेत, मन्डनदेउपुर– ९ का ६० वर्षीय शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका– ५ काभ्रेका ४० वर्षीय कुलबहादुर विकको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएका चारजनाको भने सनाखत हुन बाँकी रहेको र अन्य घाइतेको नामावली संकलन भइरहेको उनले जानकारी दिए ।
 

सुझावित समाचार