विभिन्न देशबाट नेपाल आएका शरणार्थीले ललितपुरको पुल्चोकमा प्रदर्शन गरेका छन्। बंगलादेश, अफगानिस्तानलगायतका देशका शरणार्थीले पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।
उनीहरले मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमा उल्लेख गरिएको अधिकार सुनिश्चित गर्न नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसिआर)सँग माग गरेका छन्। आफूहरूलाई शरणार्थीको मान्यता दिन नेपाल सरकारसँग आग्रह गर्न, श्रम अनुमति दिन तथा निजी विद्यालयमा अध्ययनरत आफ्ना सन्तानको शिक्षामा पूर्ण सहयोग गर्नसमेत उनीहरूले माग राखेका छन्।
एक लाख १३ हजार पाँच सय भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्स्थापना गराइएको उल्लेख गर्दै उनीहरूले नेपालस्थित युएनएचसिआरले आफूहरूको माग सम्बोधन गर्न नसके आफूहरूको विषय मुख्यालयलाई जिम्मा दिन माग गरेका छन्। हालसम्म आफूहरूले नेपालमा काम गरेबापत तिर्नुपर्ने कर एकैपटक तिर्न नसक्ने उनीहरूकाे भनाइ छ ।