प्रज्ञान सहकारीमा १८ करोड हिनामिना, अध्यक्षसहित आठजना पक्राउ

शुक्रबार, १७ असार, २०७९
डिजिटल संस्करण

करिब १८ करोड रुपैयाँ हिनामिना अभियोगमा काठमाडौंको बलम्बुस्थित प्रज्ञान तथा बचत सहकारी संस्थाका अध्यक्षसहित आठजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठगी मुद्दामा सञ्चालक तथा लेखापरीक्षकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा अध्यक्ष कृष्ण महर्जन, उपाध्यक्ष वीरकृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालीन सचिव सुरज महर्जन, कर्जा उपसमिति सदस्य अष्टकुमार महर्जन र लेखा परीक्षकद्वय हिमालयराज जोशी र दीपक रानामगर छन् ।

उनीहरूले संस्थाको १७ करोड ९४ लाख ७६ हजार पाँच सय १८ रुपैयाँ हिनामिना गरेको अनुसन्धानमा खुलेको सिआइबीका प्रवक्ता एसपी श्यामकुमार महतोले बताए । धितो जमानी नराखी ऋण प्रवाह गर्ने, नक्कली मुद्दती बचत प्रमाणपत्र दिने, नक्कली कर्जा लगानी गर्ने र सेयर अपचलन गरी सर्वसाधारणको पैसासमेत हिनामिना गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

सुझावित समाचार