चीनको बिआरआईलाई चुनौती दिन जी–सेभेन राष्ट्रले ६०० अर्ब डलर लगानी गर्ने

मंगलबार, १४ असार, २०७९
डिजिटल संस्करण

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई परियोजना)लाई चुनौती दिन जी–सेभेन समूहले विकासशील राष्ट्रहरूमा ६०० अर्ब डलर लगानी गर्ने भएका छन्। गत वर्ष बेलायतमा बसेको सो समूहको बैठकको विश्वव्यापी पूर्वाधार एवं लगानीका लागि साझेदारी गर्ने घोषणालाई यो वर्षको बैठकले पुनः अघि बढाउने निर्णय गरेको हो।

जी सेभेन समूहमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स,  जापान, इटाली र क्यानडा सामेल छन्। सार्वजनिक सो योजना सबैका लागि लाभदायक रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिक्रिया दिएका छन्। ‘यो सहयोग या अनुदान होइन भन्ने म स्पष्ट पार्न चाहान्छु,’ पिजिआइआई नामक दिइएको उक्त परियोजनाबारे बाइडेनले भने, ‘यो यस्तो योजना हो जसले सबैलाई लाभ दिनेछ।’

योजनामा जी–सेभेन समूहका नेताहरूलाई मध्यम र निम्न आय भएका देशमा पूर्वाधार परियोजना सुरु गर्नका लागि पाँच वर्षमा ६०० अर्ब डलर जुटाउन आाह्वान गरिएको छ। अमेरिकाले अनुदान, संघीय कोष र निजी लगानीमार्फत २०० अर्व डलर तथा युरोपेली संघले ३०० अर्व युरो जुटाउने प्रतिबद्धता जनाएको बिबिसीले उल्लेख गरेको छ।

यो कदमले जलवायु परिवर्तनसँग जुध्न, विश्वव्यापी स्वास्थ्यमा सुधार गर्न, लैंगिक समानता तथा डिजिटल पूर्वाधार निर्माणका लागि सहयोग पुर्याउने बताइएको छ।  एंगोलामा एक सौर्य ऊर्जा परियोजना, सेनेगलमा खोप उत्पादन केन्द्र, इजिप्ट र हर्न अफ अफ्रिका (सोमाली प्रायद्वीप) हुँदै सिंगापुर र फ्रान्स जोड्ने १,६०९ किलोमिटर लामो सामुद्रिक सञ्चार केवल बिछ्याउने पनडुब्बीलगायतलाई परियोजनामा विशेष प्राथमिकता दिइएको छ।

सुझावित समाचार