‘शोधनान्तर घाटा स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार’

सोमबार, १३ असार, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ती सरकार जिम्मेवार रहेको बताएका छन् । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालीन अर्थमन्त्री युवराज खतिवडा भएको बताएका हुन् ।

प्रचण्डले नेकपा(एमाले)का महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै आफू वामपन्थी तथा कम्युनिस्ट एकताको पहलकर्ता रहेको उल्लेख गर्दै बुर्जुवासँग मिलेर समाजवादको कुरा गरेको भन्न नमिल्ने बताए । उनले देशमा भएको राजनीतिक परिवर्तनलाई मन नपराउनेहरूले परिवर्तनअनुरूपको ऐन, कानुन निर्माण गर्न नचाहेको पनि बताए । 

‘हाम्रो अगाडि उहाँले जो शोधनान्तर घाटाको कुरा गर्नुभयो । त्यो शोधनान्तर घाटाको आज जो स्थिति छ, त्यसको प्रणेता, त्यसको जन्मदाता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा हो । समाजवादको कुरा गर्ने, समाजवादतिर जाने कुरा गर्ने हामीले गरेको होइन ?’ प्रचण्डले भने, ‘वामपन्थीहरूको एकता, कम्युनिस्टहरूको एकताबाट स्थायित्व र समाजवादतिर जाला, भ्रष्टाचार नियन्त्रण होला। जनतालाई प्रत्यक्ष राहत हामीले घोषणा-पत्रमा जे भनेका थियौँ, त्यतैतिर जाला भनेर त्यो पहल गर्ने हाम्रो अगाडि, अझ मेरो अगाडि भन्छु म चाहिँ । त्यो पहलकर्ताको अगाडि बसेर उहाँले समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ ? भन्न मिल्छ ?’

सुझावित समाचार