म्याग्दीमा पुराना चौतारी संरक्षण गरिँदै

सोमबार, १३ असार, २०७९
डिजिटल संस्करण

म्याग्दीको बेनी नगरपालिकाका पुराना चौतारीको पुनर्निर्माण गरी संरक्षण गर्न अभियान थालिएको छ । नगरपालिकाको  वडा नम्बर ७ स्थित  बसपार्कनजिक मालपोत भवनअगाडिको चौतारीलाई पुनर्निर्माण गर्न थालिएको हो  ।

बर, पीपलसहितको उक्त चौतारी संरक्षणका लागि वडाले एक लाख २७ हजार बजेट विनियोजन गरेको छ । वडामा भएका पुराना चौतारीको संरक्षणका लागि जीर्ण अवस्थाको सो चौतारीको मर्मत सुरु गरिएको बेनी नगरपालिका– ७ का अध्यक्ष रमेश श्रेष्ठले बताए । चौतारीको एकछेउमा तीनवटा मठ निर्माण गरिनेछ । अर्कोछेउमा पिउने पानीका लागि सार्वजनिक धारासहित बगैँचा निर्माण गरिने वडाध्यक्ष श्रेष्ठले बताए । 

पर्यावरण र चौतारीमा फोहाेर नगरून् भनेर मठ निर्माण गर्न लागिएको  बताए । ढुंगाको पर्खाल लगाई ढुंगाकै छपनी ओछ्याएर बस्न सहज र आकर्षक बनाउने गरी निर्माण थालिएको छ । चौतारी अपांगतामैत्री हुनेछ । ह्विलचियरको माध्यमबाट सीधै चौतारीमा गई विश्राम लिन मिल्ने गरी बाटो निर्माण गर्न लागिएको छ ।

वडावाट विनियोजित आठ लाख बजेटबाट नगरपालिकाअगाडि नाली निर्माण तथा सरसफाइ, मंगलाघाटमा नाली सरसफाइ, दोबिल्लामा सडक ग्राभेललगायतका काम गरिएको छ । चौतारी पुनर्निर्माणको कार्य पनि सोही बजेटमध्येबाट उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको हो । समयमै काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको टोल सुधार समितिका संयोजक तथा उपभोक्ता समितिका सदस्य रहमद खानले बताए ।

बेनी बजारभित्र १७ चौतारी छन् । ती सबैको मर्मत तथा संरक्षणको कामलाई नगरपालिकाले निरन्तरता दिने बेनी नगरपालिकाका प्रवक्तासमेत रहेका वडा अध्यक्ष श्रेष्ठले बताए । बेनी बजारका स्थानीयवासी कृष्णप्रसाद श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ र मेजरमान श्रेष्ठका अग्रजले करिब दुई सय वर्षअघि सो चौतारी निर्माण गरी बर र पीपल रोपेको बताइएको छ ।

सुझावित समाचार