सिराहाको अर्नामा गाउँपालिकास्थित मैनावती हेडवर्स सञ्चालनमा आएको छ । हेडवर्स सञ्चालनमा आएसँगै किसानहरू हर्षित भएका छन् । पर्याप्त सिँचाइको अभावमा खेतीपाति लगाउन नसकेका किसान अब आफ्नै क्षेत्रमा सिँचाइमा टेवा पुर्याउन हेडवर्स सञ्चालनमा आएपछि उत्साहित भएका हुन् ।
कमला सिँचाइ पूर्वी नहर जल उपभोक्ता समितिका पूर्वसचिव रामउदगार यादवले मैनावती हेडवर्स सञ्चालनले यस क्षेत्रका किसानलाई ठूलो राहत पुगेकाे बताए । ‘धानबालीको समयमा हामीले आवश्यकताअनुसार पानी पाइरहेका थिएनौँ,’ उनले भने, ‘अब मैनावती हेडवर्स सञ्चालनमा आएपछि किसानको समस्या समाधान भएको छ ।’
सिराहाको दक्षिण भेगमा अर्थात्र अर्नमा गाउँपालिका, औहरी गाउँपालिका, सुखीपुर नगरपालिकामा कमलाको पानि सहज रूपमा किसानको खेतसम्म पुर्याउने उद्देश्यले २३ जेठ ०७२ सालमै मैनावती हेडवर्सको निर्माण कार्य थालिएको थियो । पाँच करोड आठ लाख ५३ हजारको लागतमा निर्माण गरिएको उक्त हेडवर्समा शुक्रबार कमलाको पानी छोडेर सञ्चालनमा ल्याइएको छ ।
कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले उक्त हेडवर्स शुक्रबार विधिवत् रूपमा उद्घाटन गरेका छन् । कमला सिँचाइ व्यवस्थापन कार्यालयले पूर्वी नहर सिराहाको तर्फबाट साढे १२ हजार र दक्षिणी नहर धनुषातर्फ साढे १२ हजार गरी २५ हजार हेक्टर जग्गामा सिँचाइका लागि पानीको व्यवस्थापन गर्दै आइरहेको छ । तर, सिराहातर्फ आवश्यकताअनुसारको लिंक क्यान नहुँदा सिँचाइको अभाव थियो । मैनावती हेडवर्स सञ्चालनमा आएपछि सो क्षेत्रमा पर्याप्त मात्रामा सिँचाइका लागि पानी उपलब्ध हुन सक्ने प्रमुख यादवले जानकारी दिए ।
मैनावती हेडवर्समा तीन सय १० मिटरसम्म लिंक क्यानल जोडिएको छ भने वेयरको लम्बाइ ४४ मिटर र चौडाइ ६ मिटर रहेको छ ।