अन्तर्घातको आरोपमा एमाले जिल्ला अध्यक्ष थापालाई साधारण सदस्यबाटै हटाउन सिफारिस

शुक्रबार, १० असार, २०७९
डिजिटल संस्करण

स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाउँदै एमाले कैलालीका अध्यक्ष रतन थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ। जिल्ला सचिवालय समितिको बिहीबारको बैठकले अध्यक्ष थापालाई पार्टी सदस्यबाट हटाउन पार्टीको प्रदेश कमिटीलाई सिफारिस गरेको हो।

एमाले कैलालीका सचिव डेजी पाण्डेयले सचिवालय बैठकले अध्यक्ष थापालाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय प्रदेश कमिटीलाई बुझाएको जानकारी दिए। स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको पाइएकाले कारबाहीको सिफारिस गरिएको सचिव पाण्डेयले बताए।

उम्मेदवारलाई हराउन अन्तर्घात गरेकोसहित २३ वटा प्रश्न सोध्दै एमाले जिल्ला इन्चार्ज नारदमुनि रानाले गत आइतबार अध्यक्ष थापालाई स्पष्टीकरण सोधेका थिए। उनलाई तीन दिनभित्र स्पष्टीकरणको जवाफ पेस गर्न भनिएको थियो। तर, थापाले स्पष्टीकरणको जवाफ नबुझाएकाे एमाले कैलालीले जनाएको छ। स्पष्टीकरण दिनुको साटो थापाले उल्टै सञ्चारमाध्यममा स्पष्टीकरणको विरुद्धमा अभिव्यक्ति दिएको आरोप छ।

स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी अध्यक्ष केपी ओलीलाई ‘अपुतो’जस्तो तुच्छ शब्द प्रयोग गरेको, अध्यक्षमा निर्वाचित भएपछि दैनिक रूपमा पार्टी कार्यालय सञ्चालन नगरेकोलगायत आरोप स्पष्टीकरणपत्रमा लगाइएको थियो। लम्की–चुहा र घोडाघोडी नगरपालिकामा आफ्नै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको आरोपसमेत थापाविरुद्ध लगाइएको छ।

थापाको गृहनगर लम्की–चुहाको एमाले निर्वाचन परिचालन समितिको समीक्षा बैठकले जिल्ला अध्यक्षबाटै अन्तर्घात भएको निर्णय र प्रतिवेदन दिएको स्पष्टीकरणपत्रमा उल्लेख गरिएको थियो। एमालेबाट लम्की–चुहामा मेयरका उम्मेदवार महादेव बजगाईं र घोडाघोडीको मेयरका उम्मेदवार ममताप्रसाद चौधरीलाई जसरी पनि हराउँछु भनेर थापाले सार्वजनिक अभिव्यक्ति दिएको आरोपसहित इन्चार्ज रानाले स्पष्टीकरण सोधेका थिए।

आफ्नै गृहनगरमा पार्टीको चुनावी आमसभामा नगएको आरोप पनि थापामाथि लगाइएको छ। कुनै पनि पालिकामा चुनावी योजना नबनाएको, जिल्ला निर्वाचन परिचालन मूल समितिको बैठक एकपटक पनि नबोलाएको, विपक्षी पार्टीसँग साँठगाँठ गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो।

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले कैलालीका १३ मध्ये दुई पालिकामा जित हासिल गरेको थियो। अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले यहाँका सात पालिकामा जितेको थियो। चुनावमा पराजित भएपछि पार्टीभित्रै अन्तर्घात भएको भन्दै एमालेमा विवाद चर्केको छ। गत पुसमा भएको जिल्ला अधिवेशनबाट थापा पार्टीको जिल्ला अध्यक्ष निर्वाचित भएका थिए।

सुझावित समाचार