धार्मिक तथा सांस्कृतिक पर्यटन मुख्य प्राथमिकतामा
नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि एक अर्ब ६३ करोड ६५ लाख ७२ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । उपमहानगरको ११औँ नगरसभामा उपप्रमुख मोहम्मद कमरुद्दिन राईले आगामी आवका लागि सो परिमाणको अनुमानित बजेट पेस गरेका हुन् ।
उपप्रमुख राईले नगरका २३ वडाका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । कूल आम्दानीको अधिकांश भार केन्द्रीय सरकार, प्रदेश सरकारले दिने अनुदान भएकाले आन्तरिक राजस्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रूपमा लिई कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । यस वर्ष आन्तरिक आय १५ करोड ६९ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।
नेपालगन्ज उपमहानगरले आगामी आवको कार्यक्रममा धार्मिक तथा सांस्कृतिक पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको छ । ११औँ नगरसभामा नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज धार्मिक र सांस्कृतिक हिसाबले धनी भएको बताउँदै धार्मिक स्थलको संरक्षण, संवर्द्धन र प्रवद्र्धनलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले नेपालगन्जमा हिन्दू, मुस्लिम, शिख, इसाई, बौद्धलगायत बहुधार्मिक सम्प्रदायको बसोवास रहेको साथै नेपालकै नामबाट स्थापना भएको यो सहर बहुसांस्कृतिक, बहुभाषिक, बहुसम्प्रदाय र सहिष्णुतायुक्त प्राचीन सहरको रूपमा परिचित रहेको बताए ।
पाटेबाघ संरक्षण गर्न विस्तार गरिएको बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षण क्षेत्र भएकाले पर्यटकीय क्षेत्रको प्रबल सम्भावना रहेको उनले उल्लेख गरे । धार्मिक तथा सांस्कृतिक पर्यटन विकासका लागि बागेश्वरी मन्दिरको ऐतिहासिक धरोहरको संरक्षण, संवर्द्धन, सौन्दर्यीकरणसहित बागेश्वरी क्षेत्र विकास कोषको स्थापना गर्न गुरुयोजना बनाउन बजेट विनियोजन गरेको उनले बताए । नेपालगन्ज सहरको फरक पहिचान बनाउन १०८ फिटे हनुमान मूर्ति निर्माणकार्य अगाडि बढाउन बजेट विनियोजन गरिएको बताउँदै उनले बिपी चोकस्थित इदगाहमा प्रवेशद्वार निर्माण गर्न बजेट विनियोजन गरिएको बताए ।
नेपालगन्जलाई क्लिन, ग्रिन र हेल्दी सहर बनाइने
विष्टले नेपालगन्जको पहिचान बोकेको प्राचीन टाँगाहरूको संरक्षण र संवर्द्धन गरिने बताए । उनले नेपालगन्जमा रहेका धार्मिक तथा सांस्कृतिक धरोहरहरूको दीर्घकालीन संरक्षण र विभिन्न समुदायबीचको सद्भाव कायम गर्न उपयुक्त कार्यक्रमको तर्जुमा गरी धार्मिक सहिष्णु र मानवमैत्री सहरमा रूपान्तरण गर्ने योजना प्रस्तुत गरे । पर्यटन प्रवद्र्धनका लागि नगरभित्रका विभिन्न मन्दिर, मस्जिद, चर्च तथा गुम्बाहरूको संरक्षण तथा संवर्द्धनलाई प्राथमिकता दिइएको उनको भनाइ छ । ‘नगरभित्र रहेका सम्पूर्ण तालतलैया तथा पार्कहरूको पहिचान, स्तरोन्नति तथा निर्माण गरी संरक्षण र संवर्द्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनेछ,’ मेयर विष्टले सभामा पेस गरेको कार्यक्रममा उल्लेख छ ।