फेरि समातियो १० करोड मूल्यबराबरको हेरोइन

शुक्रबार, १० असार, २०७९
डिजिटल संस्करण

दक्षिण अफ्रिकी र भारतीय गिरोहको कारोबार काठमाडौंमा

दक्षिण अफ्रिकी र भारतीय लागुऔषध कारोबारी गिरोहले काठमाडौंलाई अवैध कारोबारको अखडा बनाएका छन् । विभिन्न देश हुँदै हेरोइन नेपाल ल्याएर दक्षिण अफ्रिकी गिरोहले काठमाडौंमा भारतीयलाई बुझाउने गरेका छन् ।

करिब १० करोड मूल्यबराबरको चार किलो नौ सय ग्राम हेरोइनसहित प्रहरीले गिरोहका चारजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । दक्षिण अफ्रिकाबाट हेरोइन लिएर आएका तान्जानियन अब्दुल्लाह अबुलिकी र सो लागुऔषध लिन आएका भारतीय नागरिकद्वय मुनिम सिंह, विक्रमजित सिंहलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो । भारतीयहरूलाई सहयोग गर्ने वीरगन्जका बिक्की रौनियार पनि पक्राउ परेका छन् । 

ब्युरो प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार गत २ असारमा तान्जानियन नागरिक हेरोइन लिएर नेपाल आएका थिए । उनी बौद्धस्थित एक होटेलमा बसेकोमा भारतीय गिरोह लागुऔषध लिन सोही ठाउँमा पुगेको अवस्थामा पक्राउ परेका हुन् । ‘भारतीयहरू उतैबाट गाडी लिएर हेरोइन लिन आएका थिए,’ एसपी श्रेष्ठ भन्छन्, ‘विगतमा पनि यसरी हेराइन रिसिभ गर्न आएका भारतीय काठमाडौंमा पक्राउ परेका छन् ।’ गत ७ वैशाखमा प्रहरीले सात केजी हेरोइन लिन आएका भारतीय लाल्लुनपुललाई पक्राउ गरेको थियो । ५ भदौ ०७८ मा पनि दक्षिण अफ्रिकाबाट नेपाल ल्याएर भारत लैजान लागिएको दुई केजी नौ सय ६६ ग्राम हेरोइन बरामद भएको थियो । 

हाल पक्राउ परेका तान्जानियन नागरिकले सुटकेसमा फल्सबटम बनाई त्यहाँभित्र हेरोइन लुकाएका थिए । पक्राउ परेका अब्दुल्लाह दक्षिण अफ्रिकाको जोहनसवर्गबाट दुबई हुँदै काठमाडौं आएका थिए । प्रारम्भिक अनुसन्धानमा उनी भरिया मात्र भएको खुलेको छ । दक्षिण अफ्रिकामा रहेको गिरोहले उनलाई नेपाल पठाएको प्रहरी अधिकारी बताउँछन् । 

भारतीयलाई सहयोग गर्ने रौनियारको भूमिका प्रस्ट हुन सकेको छैन । भारतीयलाई ठाउँ देखाउन मात्र आफूले सहयोग गरेको दाबी उनले गरेका छन् । काठमाडौं न्युरोडमा आफ्नो पसल भएको र त्यहाँ सामान किन्ने क्रममा चिनेका भारतीयलाई ठाउँ देखाउन आफूले सहयोग गरेको उनको भनाइ छ । 

१० दिनअघि ५१ केजी हेरोइनसहित पक्राउ परेका व्यक्ति र अब्दुल्लाहलाई एउटै गिरोहले पठाएको हुन सक्ने प्रहरी आकलन छ । पछिल्ला समय अफ्रिकाबाट नेपाल हुँदै भारतमा हेरोइन तस्करी फस्टाएको प्रहरीले जनाएको छ । भारतमा खैरो हेरोइनको उच्च माग भएको र नेपाल–भारतबीच खुला सीमा भएकाले नेपाललाई लागुऔषध गिरोहले ट्रान्जिटका रूपमा प्रयोग गरेको प्रहरी अधिकारी बताउँछन् । नेपालको विमानस्थलमा अत्याधुनिक जाँच प्रणाली नहुनु र पक्राउ परे पनि तुलनात्मक रूपमा कम सजाय हुने भएकाले अन्तर्राष्ट्रिय कारोबारीले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएका छन् । हेरोइन तस्करीमा विगतमा भारतबाट नेपाल आउने गरेकोमा पछिल्लो समय भारतीय बजारलाई लक्षित गरी नेपालबाट तस्करी हुन थालेको छ । 

See More On

सुझावित समाचार