प्रदेश सांसदहरूले नेपालमा जलवायु परिवर्तनको असर डरलाग्दो बन्दै गएको भन्दै सचेत हुनुपर्ने वेला आएको बताएका छन् । नेपालमा पछिल्लो समय जलवायुजन्य परिवर्तनका कारण मानवजीवनमा ठूलो असर परिरहेको भन्दै त्यसतर्फ तीनवटै सरकार सचेत भएर काम गर्ने वेला भएको बताएका हुन् ।
जलवायु परिवर्तनको असर सबैभन्दा धेरै महिलालाई पर्ने गरेको विज्ञहरूको भनाइ छ । जलवायु परिवर्तनका कारण खानेपानीको मुहान सुक्नुले पानी लिन टाढा धाउनुपर्ने बाध्यता छ । जसकारण घरको काम गर्ने महिलामा झनै बढी कामको चाप थपिएको छ । यसको प्रत्यक्ष असर हिमाली र पहाडी भेगका महिलामा परेको छ ।
कर्णाली प्रदेश सांसद एवं कर्णाली प्रदेशकी सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीले जलवायु परिवर्तनको असर मानव विकासमा समेत परिरहेको बताइन् । उनले कर्णाली प्रदेशमा जलवायुका परिवर्तनका कारण भूक्षय, बाढीपहिरोको प्रकोप उच्च रहेको र विकासका पूर्वाधार पनि पर्याप्त नभएको गुनासो गरिन् ।
अध्यक्ष ओलीले कर्णाली प्रदेशलाई हरेक हिसाबमा विकास र सुसूचित पार्न गाह्रो रहेको बताइन् । उनले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशको संस्कृति, स्थानीय भाषा, महिलाको सामाजिक संरचना, कुरीति महिलाप्रति सांस्कृतिक हिसाबले पनि धेरै बन्देज रहेको बताइन् ।
त्यस्तै, बागमती प्रदेशकी सांसद एवं उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले पार्टीगत रूपमा नै नेतृत्व वर्गमा महिलाबारे सोचाइ फरक रहेको बताइन् । उनले महिलालाई कुनै पनि जिम्मेवारी दिँदा पूरा गर्न सक्ने आधार तयार भइसके पनि नेतृत्व तहमा अझै महिलालाई नेतृत्व प्रदान गर्ने बुझाइमा विकास हुन नसकेको बताइन् । सभापति आलेमगरले निडरका साथ राम्रो काम गर्दा व्यवधान आए पनि समाधान गरेर अघि बढ्ने आफ्नो कार्यको अनुभव रहेको बताइन् ।