बैठकमा अनुपस्थितिबारे संसदीय समितिद्वारा प्रधानमन्त्रीसँग जवाफ माग

आइतबार, ५ असार, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ। आइतबार बसेको समितिको बैठकले प्रधानमन्त्री देउवालाई समितिको बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको हो।

समितिले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री देउवालाई बैठकमा बोलाएको थियो। तर, देउवाले अन्तिम समयमा आएर सचिवालयमार्फत बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सांसदहरूले विभिन्न टिप्पणी गरेपछि समितिले प्रधानमन्त्रीलाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको हो।

समिति सभापति पवित्रा निरौला खरेलले संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित हुनु संसदीय प्रणालीको अभ्यासमा उचित नदेखिएको भन्दै ध्यानाकर्षण गराइएको बताएकी छिन्।

‘अमेरिका भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि सम्माननीय प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा उहाँले अन्तिम क्षणमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराउनुभयो। प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरियो। अनुपस्थित हुने कुरा हाम्रो अभ्यासमा उचित नदेखिएको कुरालाई ध्यानाकर्षण गराउँदछु,’ उनले भनिन्।

सुझावित समाचार