सहकारीमार्फत समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणमा प्रतिबद्धता
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)ले काठमाडौंमा आयोजना गरेको चौथो साकोस शिखर गोष्ठीले १२ बुँदे घोषणापत्र जारी गरेको छ । नेपाल सरकारको समेत सहआयोजनामा दुई दिन चलेको गोष्ठीले १२ बुँदे घोषणापत्र जारी गरेको हो ।
बचत तथा ऋण सहकारी संस्था (साकोस)मार्फत मर्यादित श्रम सिर्जना, गरिबी न्यूनीकरण र स्वरोजगारी सिर्जना गरी समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्पसहित १२ बुँदे साझा घोषणापत्र जारी गरेको आयोजकले जनाएका छन् । गोष्ठीमा देशभरका करिब सात सय ५० जना सहकारीकर्मीको उपस्थिति रहेको थियो ।
सहकारी ऐन, २०७४ ले व्यवस्था गरेका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, अन्तरसहकारी कारोबार, सहकारी प्रवद्र्धन कोषको प्रभावकारी कार्यान्वयन र तहगत कानुनमा एकरूपताका लागि सामूहिक पैरवी गर्न गोष्ठीमा सहभागीले प्रतिबद्धता जनाएको बताइएको छ ।
त्यस्तै, एकीकृत सूचना प्रणाली कोपोमिसमा समष्टिगत र नियमित तथ्यांक विवरण ०७९ असार मसान्तसम्म अद्यावधिक गर्नसमेत सहकारी संस्थाका प्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् ।
सहकारी संस्था र सदस्यहरूमा आउन सक्ने जोखिम न्यूनीकरण एवं व्यवस्थापनका लागि संस्थागत रूपमा विपद् जोखिम न्यूनीकरण र व्यवसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्नसमेत उनीहरूले प्रतिबद्धता जनाएका छन् ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनअनुसार १० करोडभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाले गोएएमएल सफ्टवेयर प्रणालीमा आबद्धता र नियमित प्रतिवेदन पेस गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्न–गराउनसमेत उनीहरू प्रतिबद्ध भएको आयोजकले जनाएको छ ।