मेलामा हजारभन्दा बढी मोडलका जुत्ता, ७० प्रतिशतसम्म छुट

आइतबार, ५ असार, २०७९
डिजिटल संस्करण

भृकुटीमण्डपमा जारी बृहत् जुत्ता–चप्पल मेलामा एक हजारभन्दा बढी मोडलका जुत्ता–चप्पल राखिएका छन् । ती जुत्ता चप्पलको खरिदमा ३० देखि ७० प्रतिशतसम्म छुट दिइएको छ । मेलाका संयोजक रामहरि तोलाङका अनुसार मेलामा थोरै मात्रै नाफा खाएर बिक्री गर्न व्यवसायीहरू सहमत भएकाले सस्तोमा जुत्ता–चप्पल उपलब्ध गराउन सकिएको हो ।

मेलामा झन्डै एक दर्जन जुत्ता–चप्पल उद्योगहरूको उत्पादन राखिएको शिखर सुका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए । विगतमा आयोजना गरेका मेलामा ग्राहकहरूको आकर्षण बढेकाले यसपटक पनि मेला आयोजना गरिएको उनको भनाइ छ । 

मेलामा भेटिएका बानेश्वरका सुरेश श्रेष्ठले नेपाली जुत्ता–चप्पल पनि अहिले विदेशीभन्दा राम्रा भएको बताए । उनले विगतका मेलामा किनेका जुत्ता–चप्पलबाट सन्तुष्ट भएकाले अहिलेको मेलामा पनि सपरिवार आएको जानकारी दिए । विदेशी जुत्ता–चप्पल गुणस्तरभन्दा मूल्य बढी हुने गरेको अनुभव सुनाउँदै उनले भने, ‘नेपाली जुत्ता–चप्पल गुणस्तर र टिकाउअनुसार मूल्य पनि सस्तो छ ।’ 

नेपाली उपभोक्ताले नेपाली उत्पादन नै प्रयोग गर्दै जाने हो भने नेपाली उद्योग फस्टाएर थप गुणस्तरीय जुत्ता–चप्पल थप सस्तोमा पाइने व्यवसायीहरूको भनाइ छ । अन्यत्र २५ सय रुपैयाँ पर्ने जुत्तालाई मेलामा आफूले सात सय रुपैयाँमा पाएकाले मेलालाई अवसरका रूपमा लिएको अर्का ग्राहक एलिसा ज्ञवालीले बताइन् ।

‘विदेशी भनेपछि जस्तोलाई पनि राम्रो मान्ने नेपालीको मानसिकता छ, त्यो गलत र भ्रमपूर्ण हो, विदेशीहरूभन्दा नेपाली जुत्ता नै धेरै बलिया, राम्रा, आकर्षक र सस्ता पनि छन्,’ उनले भनिन् । मेलामा निम्न आय भएकादेखि उच्च आय भएकासम्मका सबै प्रकारका ग्राहकहरूको भिड लागेको पाइएको छ ।
 

सुझावित समाचार