एक अर्ब दुई करोड रुपैयाँबराबरको अवैध हेरोइन कसरी बरामद गरियो ? (भिडियोसहित)

बिहिबार, २ असार, २०७९
डिजिटल संस्करण

एक अर्ब दुई करोड रुपैयाँबराबरको हेरोइनसहित सात महिला पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ५१ किलो हेरोइनसहित सातजनालाई पक्राउ गरेको हो ।
बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले गत २६ देखि ३१ जेठसम्म एक साताको अवधिमा ५१ किलो हेरोइनसहित सातजना अफ्रिकन नागरिक पक्राउ परेको जनाएको हो । 

पत्रकार सम्मेलनमा लागुऔषध नियन्त्रण ब्युरो कार्यालयका प्रमुख जीवनकुमार श्रेष्ठले नेपाललाई ट्रान्जिट बनाएर भारतलगायतका देशमा कारोबार गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागुऔषध कारोबार गर्नेहरूलाई पक्राउ परेको बताए । उनले विगतमा पनि लागुऔषध कारोबारीहरू पक्राउ गरिएको आधारमा निगरानी राख्दै जाँदा ५१ केजी हेरोइन फेला परेको बताए । 

बरामत गरिएको ५१ केजी हेरोइन अहिलेको बजार भाउअनुसार एक अर्ब दुई करोड रुपैयाँबराबार हुन आउने उनले जानकारी दिए । श्रेष्ठले पक्राउ परेका सातैजना दक्षिण अफ्रिकाका नागरिक रहेको बताए । 

श्रेष्ठका अनुसार उनीहरू विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएको खुलेको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएका मुरिल नसाम्बा र थान डेकीलेको बयानका आधारमा थप ८ किलो कोकिनसँगै दक्षिण अफ्रिकन महिला थभोनीलाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेकामध्ये दुईजना नेपाल आउजाउ गरिरहने गरेको र पाँचजना पहिलोपटक नेपाल आएको अनुसन्धानबाट खुलेको उनले बताए ।

सुझावित समाचार