विरोधीले हराउन सक्ने थिएनन्, पार्टीभित्रैबाट शकुनीहरू निस्किए : अध्यक्ष ओली

बिहिबार, २ असार, २०७९
डिजिटल संस्करण
विरोधीले हराउन सक्ने थिएनन्, पार्टीभित्रैबाट शकुनीहरू निस्किए : अध्यक्ष ओली

तस्बिर : संजित परियार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टीभित्रै अन्तरघात भएको बताएका छन्। पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनले विपक्षीहरूले केही गर्न नसक्ने भए पनि पार्टीभित्रैबाट ‘शकुनीहरू’ निस्किएकाे टिप्पणी गरेका हुन्।

मिर्जाफर र मिर्क आसिमको कारण अंग्रेजले बंगाल कब्जामा लिएको उदाहरण दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। ‘विरोधीहरूले मात्रै पनि हराउन सक्ने थिएनन्। हामीलाई हराउन हाम्रा विरोधीले सक्दैनन्। तर हामीभित्रबाट शकुनीहरू निष्क्रिय, मिर्जाफर र मिर्क आशिमहरू निष्क्रिय,’ उनले भने।

एमालेको नेतृत्वमा मुलुकले प्राप्त गरेको सफलता, स्थायित्व र स्थिरता भत्काएर अस्थिरताको दुश्चक्र सुरु गर्ने गम्भीर षड्यन्त्र भएको उनको आरोप छ। ‘हाम्रो पार्टी नै कब्जा गर्ने, सिध्याउने र प्रतिक्रियावादी वर्ग र शक्तिहरूको हितमा लगाउने प्रयासहरू भए,’ उनले भने, ‘पार्टीभित्रैबाट संकट पैदा गरियो। बाह्य शक्ति र पार्टीभित्रका शक्तिहरू मिलेर नेपालको वामपन्थी आन्दोलनको, लोकतान्त्रिक आन्दोलनको, देशभक्तिपूर्ण आन्दोलनको अग्रणी संस्था नेकपा एमालेलाई कमजोर पार्ने कोसिस गरियो।’

पार्टी अध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने दुष्प्रयासहरू भएको बताउँदै उनले एमालेको अस्तित्व मेटाउन खोजेका ठाउँहरूमा समेत पार्टी पहिलो बनेको उनको दाबी छ। 
 

सुझावित समाचार