मुङ्ग्रोबाट क्रिकेट सिकेर राष्ट्रिय टोलीमा परिन् हिरन्मई : तर ‘ट्राभल डकुमेन्ट’ नबन्दा पहिलो अन्तर्राष्ट्रिय खेलबाटै वञ्चित

मंगलबार, ३१ जेठ, २०७९
डिजिटल संस्करण
मुङ्ग्रोबाट क्रिकेट सिकेर राष्ट्रिय टोलीमा परिन् हिरन्मई : तर ‘ट्राभल डकुमेन्ट’ नबन्दा पहिलो अन्तर्राष्ट्रिय खेलबाटै वञ्चित

हिरन्मईका आमाबुबा र बीचमा बहिनी हैमवती, उनी पनि क्रकेटर हुन् ।

‘सानैदेखि क्रिकेटमै ध्यान थियो । ब्याट किन्ने पैसा थिएन । काठको ब्याट आफैँ बनाइदिएँ,’ छोरीको क्रिकेट मोहबारे क्रिकेटर हिरन्मई रायका बुबा वीरेन पुरानो काठको ब्याट देखाउँदै भन्छन् । सम्भावना बोकेकी लेग स्पिनर हिरन्मईको सानैदेखि क्रिकेटप्रति मोह थियो । त्यसलाई उनले प्रमाणित पनि गरिसकेकी छिन् । तर, बाबु वीरेनको नागरिकता नभएकै कारण करियरकै पहिलो विदेश यात्रामा धक्का लाग्यो । उनले विदेशमा हुने पहिलो अन्तर्राष्ट्रिय खेल गुमाएकी छिन् । उनका बाबु वीरेन भारतको पश्चिम बंगालबाट ०३८ सालमा नेपाल आई बसोवास गर्दै आएका छन् । तर, उनले नेपाली नागरिकता पाएका छैनन् । हिरन्मईसहित तीन सन्तान यहीँ जन्मिए । उनीहरूको जन्मदर्ता पनि छ । तर, बुबाकै नागरिकता नभएका कारण हिरन्मईले मलेसियामा हुने एसिसी महिला टी–२० छनोट खेल गुमाएकी छिन् । ट्राभल डकुमेन्टका लागि आवश्यक कागजात नपुग्दा उनले एसिसी महिला टी–२० छनोट खेल खेल्न पाइनन् । 

हिरन्मईको परिवार दमक–४ कृष्ण मन्दिरमा लामो समयदेखि बसोवास गर्दै आएको छ । ०३८ सालमा पश्चिम बंगालबाट वीरेनका मिल्ने साथी नेपाल आएपछि उनलाई खोज्दै वीरेन दमक आइपुगे । दमक आएर कहिले मजदुरी गरे, कहिले अर्काकोमा हलो जोते त कहिले अर्काको अधियाँ खेती गरे । गरिबीलाई छिचोल्दै दमकमै जीवन गुजारिरहेको छ, वीरेनको परिवार । चैत ०६३ मा उनका जुम्ल्याहा छोरी जन्मिए, हिरन्मई र हैमवती । बाबुसँगै उनीहरू पनि गरिबी छिचोल्दै हुर्किए । तर, सानैदेखिको क्रिकेटप्रतिको लगावलाई भने बचाइराखे । हिरन्मईले महिला राष्ट्रिय टोलीमा अवसर पाइन् । अहिले उनी काठमाडौंमा छिन् । बहिनी पनि क्रिकेटर हुन् । उनले प्रदेशबाट क्रिकेट खेल्दै आएकी छिन् । ‘दिदी र मैले ढुंगालाई बलिङ गरेर क्रिकेट सिकेका हौँ,’ बहिनी हैमवती भन्छिन्, ‘हाम्रो घरमा टिभी थिएन । अर्काकोमा गएर क्रिकेट हेथ्र्यौँ ।’

केही वर्षअघिसम्म वीरेन अधियाँ खेती गर्थे । अधियाँले मुस्किलले खान पुग्थ्यो । तर, दुई छोरी र एक छोरालाई पढाउनै मुस्किल थियो । ‘सानैदेखि जनमन गरेर खाँदै आएँ । केही गर्न सकिनँ । बिहेपछि अधियाँ खेती गरेँ । जहाँ खेती गरेँ, त्यहीँ झुप्रो बनाएर बसेँ । तर, एक वर्ष खेती गरेपछि साहुले आफैँ गर्छु भन्थे,’ उनी भन्छन्, ‘अब त केही गर्नुपर्छ भन्ने लागेर यहाँ कृष्णमन्दिरमा खाली जग्गामा खाजा र चिया पसल खोलेँ । अहिले भाडामा बसेर यही पसलबाट परिवार चलाउँदै आएको छु ।’ 

ब्याटजस्तै मुङ्ग्रो देखाउँदै वीरेन । 

गरिबीले जेलिएका वीरेनले छोरीहरूले क्रिकेटमा चासो देखिए पनि ब्याटसम्म किनिदिन सकेका थिएनन् । छोरीहरूले कर गरेपछि उनले आफैँ काठको मुङ्ग्रोको ब्याट बनाइदिएका थिए । उनीसँग ती पुराना काठका दुइटा ब्याट अझै सुरक्षित छन् । ‘आफैँ किन्न सकिनँ । त्यही भएर काठको ब्याट बनाइदिएँ,’ उनी भन्छन्, ‘कसैले दिएका पुराना ब्याटले खेलेर छोरीहरू हुर्किएका हुन् । स्कुलमा साथीहरूले नयाँ लुगा लगाउँथे । तर, यिनीहरूले एउटै लुगा तीन वर्षसम्म पनि लगाए । नयाँ किन्ने पैसा थिएन । ऋण माग्दा समयमा फर्काउन सक्दिनँ कि भन्ने चिन्ता लाग्यो ।’ 

दुई वर्षअघि कक्षा–८ मा पढ्दै गर्दा विद्यालयका शिक्षकले दमकमा प्याट्रियोटिक क्रिकेट एकेडेमी खुलेको जानकारी दिए । पैसा नलाग्ने भएपछि त्यही एकेडेमीमा दुई छोरीले क्रिकेटको प्रशिक्षण लिए । दुवै छोरी बलर हुन् । जेठी छोरी हिरन्मई महिला राष्ट्रिय क्रिकेट टोलीमा परिन् । कान्छी प्रदेशस्तरीय खेल खेल्दै छिन् । तर, राष्ट्रिय टोलीबाट खेल्न मलेसिया जाने हिरन्मईको यात्रा नागरिकताकै कारण रोकियो । ‘पहिला नागरिकता टोली आउँदा म मिस्त्री काममा गएको हुन्थेँ । त्यो वेला किन चाहियो भनेर लिइनँ,’ वीरेन भन्छन्, ‘आज देशका लागि खेल्ने अवसर छोरीले त्यही कारण गुमाई ।’ गुजाराका लागि अनेक हन्डर खाएर चिया पसल गर्दै आएका वीरेन छोरीहरूप्रति निकै आशावादी छन् । दुई छोरीपछिका छोरा पनि क्रिकेटमै चासो राख्छन् । उनी पनि एकेडेमीमा प्रशिक्षण लिइरहेका छन् । ‘छोराछोरीप्रति आशा र भरोसा छ,’ उनी भन्छन्, ‘तर, कागजात नमिलेर उनीहरूको यात्रा यसरी रोकिँदा निकै दुःख लाग्छ ।’ 

विद्यालयमा जन्मदर्ता आवश्यक परेपछि वीरेनले दुई छोरी र एक छोराको दमक–४ बाट जन्मदर्ता गराइदिए । अब १३ चैतमा छोरीहरू १६ वर्ष पुग्छन् । त्यसपछि भने नागरिकता बन्नेमा ढुक्क छन्, वीरेन । ‘जन्मदर्ता छ । अब चैतमा त छोरीहरू १६ वर्ष पुग्छन् । त्यसपछि त नागरिकता बनिहाल्छ,’ उनी भन्छन्, ‘त्यसपछि उनीहरूको यात्रा रोकिँदैन भन्ने आशा छ ।’ वीरेनलाई पनि क्रिकेटप्रति मोह छ । त्यसैले त गरिबीका बीच छोरीहरूलाई क्रिकेट खेलका लागि प्रोत्साहन गरिरहे । ‘टिभीमा क्रिकेट हेर्न पाए रात बितेको थाहै पाउँदिनँ,’ उनले भने, ‘अरू खेलभन्दा यो खेल ठीक छ । अरूमा खुट्टामा हान्ने, फल बनाउने हुन्छ । यसमा त्यस्तो हुँदैन ।’ 

विदेशमा खेल्न कागजात मिलेन

हिरन्मई 

हिरन्मई र हैमवती दुवैजना दमक–४ स्थित कृष्ण माविमा कक्षा १० मा पढ्थे । उनीहरू दुवैको गत वैशाखमा एसइई थियो । तर, एसइई हुनुभन्दा केही दिन पहिला नै हिरन्मईलाई मलेसियामा हुने एसिसी महिला टी–२० छनोट खेलका लागि प्रशिक्षणमा बोलाइयो । उनले एसइईभन्दा राष्ट्रिय टिममै भविष्य देखिन् । बहिनी हैमवतीले एसइई दिइन्, उनले दिन पाइनन् । परीक्षा छुटाएर प्रशिक्षण गरे पनि कागजात नपुगेका कारण मलेसियामा हुने खेल गुमाउन पुगिन् । 

See More On

सुझावित समाचार