नुवाकोटमा रासायनिक मलको चरम अभाव

सोमबार, ३० जेठ, २०७९
डिजिटल संस्करण

सरकारले कृषि उत्पादकत्व वृद्धि गर्नेदेखि खाद्य अधिकार सुरक्षाको कुरा गरिरहे पनि किसानले रासायनिक मल खरिद गर्न नपाउँदा समस्यामा परेका छन् ।जिल्लाका किसानले रासायनिक मलको अभावमा यो वर्ष मकै उत्पादनमा धेरै कमी आउने बताएका छन् । बारीको मकैमा मल हाल्न नपाएको कारण अब आस मारिसकेको तारकेश्वर– ४, बधुसिंका किसान पुरुषोत्तम श्रेष्ठले बताए ।  

‘अहिले बारीको मकैमा युरिया मल आवश्यक रहेको छ । सहकारीमार्फत मल आउनुपर्ने, आएको छैन । महँगोमा फाट्टफुट्ट व्यापारीले ल्याएको मल किन्छुभन्दा पनि पाउन सकेको छैन,’ उनले भने, ‘अबको एक हप्तामा मल हाल्न पाइएन भने बारीको मकैको उत्पादन ९० प्रतिशत घट्छ ।’

जिल्लाको कृषि सामग्री कम्पनी लि. र साल्ट ट्रेडिङ लि.ले सहकारीमार्फत बिक्री गर्दैै आएको छ । तर, दुवै कम्पनीको गोदाम रित्तै छ । दुई साता पहिले आएको ७६ मेट्रिक टन युरिया मल प्रतिसहकारी सात बोराको दरले वितरण गरेको कृषि सामग्री कम्पनीका सहायक प्रमुख अनुराधा खनालले बताइन् । कम्पनीले चालू आर्थिक वर्षका लागि युरिया मल पाँच हजार टन माग गरेको भए पनि हालसम्म एक हजार पाँच सय २५ टन मात्र मल आएको कृषि सामग्री कम्पनीकी खनालले जानकारी दिइन् । 

दुई हजार पाँच सय टन डिएपी मल माग गरे पनि हालसम्म सात सय ५० टन मल आएको छ । ८३ टन पोटास माग गरिएकोमा ११ टन मात्र आएको खनालले जानकारी दिइन् । कम्पनीबाट आएको मल किसानलाई दुई किलोको दरले बिक्री गरिएको विदुर– ३ स्थित कुसुनटार कृषि सहकारी संस्थाका सञ्चालक सदस्य गोविन्द अर्यालले बताए । 

चालू आर्थिक वर्षका लागि जिल्लाका विभिन्न बालीहरूका लागि नुवाकोटमा युरिया मल मात्र एक वर्षमा आठ हजार पाँच सय नौ मेट्रिक टन आवश्यक पर्ने कृषि ज्ञान केन्द्रकी अधिकृत रुकमणि अधिकारीले जानकारी दिइन् । तर, जिल्लामा यो वर्ष दुई हजार तीन सय ५० मेट्रिक टन मात्र रासायनिक मल भित्रिएको छ । स्थानीय तहबाट आ–आफ्नो पालिकामा आवश्यक पर्ने मलको वितरणअनुसार केन्द्रले जिल्लामा आवश्यक पर्ने मलको विवरण तयार पारेको हो । जिल्लालाई डिएपी पाँच हजार आठ सय ४८, पोटास एक हजार सात सय २८ मेट्रिक टन आवश्यक पर्ने कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ । 

 सरकारले वेलामा मल नल्याएको कारण चैतेधानको उत्पादनकमा ह्रास आउने भएको छ भने मकै बारीको मकै बालीलाई मल अभाव भएको छ । जिल्लामा आएको मललाई समानुपातिक रूपमा वितरण गराउन ध्यान दिएको र मल ल्याउन माथिल्लो निकायमा पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । 
 

See More On

सुझावित समाचार