प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारदेखि काठमाडौंमा सुरु राष्ट्रिय सम्मेलनमा देउवाले यस्तो बताएका हुन्।
कांग्रेसको एकलौटी सरकार नभएको उल्लेख गर्दै उनले ट्रेड युनियन कांग्रेसले धेरै माग दाबी गर्न नमिल्ने बताए। ‘एउटा कुरा के बुझ्नुपर्याे भने तपाईंहरूले यो कांग्रेसको एकलौटी सरकार होइन। यो नबुझीकन तपाईंहरूले धेरै क्लेम गर्ने कुरा छैन। अरू कतिपय तपाईंहरूले अति महत्वपूर्ण कुराहरू उठाउनुभएको छ। कतिपय बजेटमा आएका छन्। छैनन् भने पनि हामीहरू त्यसलाई पूरा गर्नेछौँ,’ देउवाले भने।
उनले श्रमिकहरूको हक, अधिकारको सुरक्षा र उनीहरूका लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढसंकल्पित रहेको बताए। प्रधानमन्त्री देउवाले विपन्न र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरणसमेत गराएका छन्।