बन्चरेडाँडा ल्यान्डफिल्डमा १० अर्ब लागेको भन्ने कुरा विश्वास गर्न सकिँदैन : तामाङ

शुक्रबार, २७ जेठ, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले बन्चरेडाँडा ल्यान्डफिल्डमा फोहोर विर्सजन गर्न अहिलेसम्म १० अर्ब रुपैयाँ लागेको भन्ने कुराको विश्वास गर्न नसक्ने बताएका छन् । 

उनले पैसा खर्च भएअनुसार काम नभएको बताउँदै विकसित मुलुकमा भएको प्रविधि ल्याएर वैज्ञानिक ढंगबाट फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । उनले  गन्धरहीत बनाउने कुरा हरेकपल्ट भनिरहनुपर्ने कुरा नभएकोले सरकारले फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय सोच्न ढिला भइसकेको बताए । नेता तामाङले सरकारले फोहोर विसर्जनस्थलको रूपमा अर्को विकल्प खोज्न पनि आग्रह गरे । 

उनले भने, ‘पोस्ट क्लोजरको काम गर्ने भनेर पहिल्यैदेखि भनिरहेको कुरा हो । अहिले बन्चरेडाँडा साइटमा फोहोर विसर्जन गर्दैगर्दा, यो पनि अहिले भनिरहनुपर्ने कुरा हो र ? गन्धरहीत बनाउने कार्यक्रम अहिले पनि सम्झाइरहनुपर्ने हो र ? यहाँ १० अर्बभन्दा बढी खर्च भइसक्यो रे ? भयो होला, त्यतातिर लगेर यो विषय गिजोल्न खोजेको होइन तर १० अर्ब संसारका ठूला अरू सहरमा यत्रो महंँगो फोहोर व्यवस्थापन अहिलेसम्म भएको होला त ? पक्कै पनि भएको छैन । राज्यले संसारका विकसित मुलुकमा विकास भएका प्रविधिहरूको आयात गरेर ल्याउनुपर्छ । हाम्रो विकल्प त्यति मात्रै होइन । यसतर्फ सरकार गम्भीर नभएकै हो । व्यवस्थापनमा इमान्दारिता देखाउने हिसाबले प्रतिबद्धता जनाउनुपर्छ । काठमाडौंमा देखिएको समस्या समाधानका लागि जनसाधारणले पनि सहयोग गर्नुपर्छ । योभन्दा बढी काठमाडौंमा फोहोर थुप्रिन दिने हो भने संसारले बदनाम सरकार र बदनाम सहर भनेर हामीलाई चिन्छ ।’

नेता तामाङले फोहोर व्यवस्थापन गर्ने र व्यवस्थापन केन्द्र आसपास रहेका नागरिकको सुरक्षा र हेरचाहमा सरकार गम्भीर नभएको आरोपसमेत लगाए। उनले व्यवस्थापनमा इमान्दारिता देखाउने हिसाबले प्रतिबद्धता जनाउन पनि सरोकारवाला निकायको ध्यानाकर्षण गरे । उनले काठमाडौंमा अझै फोहोर थुप्रिन दिने हो भने विश्वले बदनाम सरकार र बदनाम सहर भनेर चिन्ने दाबी गरे । 

सुझावित समाचार