प्रसारण लाइन अभावले दोर्दीखोलाको २७ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिएन

शुक्रबार, २७ जेठ, २०७९
डिजिटल संस्करण

लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारणलाइन अभावले राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन। नेपाल विद्युत् प्राधिकरणले उदीपुरदेखि मध्यमर्स्याङ्दीसम्मको ६ किलोमिटर लामो प्रसारण लाइन निर्माण पूरा नगर्दा आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिन नसकेको आयोजनाका निर्देशक गुरुप्रसाद ढकालले बताए।

ढकालका अनुसार लाइनको १.८ किलोमिटर मात्र तार तान्न बाँकी छ। प्राधिकरणले निर्माण गरिरहेको २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइन तयार नहुँदा आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिन नपाएकोे हो। वैशाखको पहिलो साताबाट व्यावसायिक विद्युत् उत्पादन गर्ने योजना भए पनि लाइन तयार नहुँदा विद्युत् खेर गइरहेको आयोजनाका निर्देशक ढकालको भनाइ छ।

वि.सं ०७२ फागुनबाट निर्माण सुरु भएको यस आयोजनाले वि.सं ०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो। पछि समय थपेर ०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि पूरा नभएपछि पुनः ०७६ असारसम्मका लागि समय थप भएको थियो।

थपिएको समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि ०७६ पुस र पछि ०७७ चैत महिनासम्म विद्युत् उत्पादन गर्ने लक्ष्यसहित पुनः समय थपिएको थियो। आयोजनाले फेरि वैशाखदेखि उत्पादन गर्ने योजना बनाए पनि लाइन समस्याले गर्दा विद्युत् जोडिन पाएन।

नाकाबन्दी, विद्युतगृहमा मर्स्याङ्दीको पानी छिरेर मेसिनरीमा क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ। आयोजना सम्पन्न गर्न चार अर्ब २३ करोड रूपैयाँ लाग्ने अनुमान भए पनि निर्माण अवधि लम्बिँदै जाँदा लागत चार अर्ब ६४ करोड रुपैयाँसम्म पुगेको अनुमान छ।

सुझावित समाचार