चीनको सीमा गाउँ तिंकरमा पहिलाेपटक टेलिफाेन सेवा

बुधबार, २५ जेठ, २०७९
डिजिटल संस्करण

दार्चुलाको त्रिदेशीय सीमानजिकैको तिंकर गाउँमा पहिलोपटक टेलिफोनको पहुँच पुगेको छ। चीनको सीमानजिकै रहेको व्याँस गाउँपालिका– १, तिंकरमा पहिलोपटक नेपाल टेलिकमको एनटिसेट लाइन जडान भएको हो । नेपाल टेलिकम दार्चुलाले तिंकर गाउँमा दुईवटा एनटिसेट लाइन जडान गरेको हो । सञ्चार सम्बन्धबाट टाढा रहेको व्याँस गाउँपालिकाको तिंकरमा पहिलोपटक ‘भिसेट एनटिसेट’ जडान गरिएको व्याँस गाउँपालिका– १ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए ।

यससँगै व्याँस गाउँपालिका– १, छाँगरूको ज्याक्तीमा नेपाल टेलिकमको ‘फोरजी’सहितको टेलिफोन टावर जडान सुरु गर्ने तयारी पनि भएको छ । यसअघि छाँगरूमा सशस्त्र प्रहरी र स्थानीयका लागि भनी एनटिसेट लाइन जडान गरिएको थियो । हाल स्काई फोनको सुविधा रहेको छाँगरू गाउँमा फोरजीसहितको नेपाल टेलिकमको लाइन जडानको तयारी छ । 

सामरिक महत्व बोकेको छाँगरू तिंकरमा टेलिफोन सेवा सञ्चालन गर्न पछिल्लो समय टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङ आफैँ खटिएका थिए । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले भने, ‘छाँगरूको ज्याक्ती डाडामा फोरजी जडान हुँदै छ । सोलार ब्याट्री अपुग भएका कारण केही समय लाग्न सक्छ ।’
तिंकर गाउँमा भने ल्यान्डलाइन सुचारु गरिएको छ । अहिले तिंकर गाउँका लागि ९९४९३००५० र ९९४९३००५१ नम्बर सुचारु गरिएको वडासचिव बुढाथोकीले जानकारी दिए । यसअघि यहाँका नागरिकले फोन सेवाबाट वञ्चित हुनुपरेको थियो । छाँगरूमा फोन लागे पनि तिंकरमा फोन लाग्दैन थियो ।

टेलिकमको फोरजी सेवा सुचारु भए छाँगरू मात्र नभई भारतले अतिक्रमण गरेको कालापानी, कुटी, गुञ्जी र नाभीलगायतका क्षेत्रसम्म नेपाली फोनको पहुँच हुनेछ । ज्याक्ती डाँडाबाट कालापानी, गुञ्जी र कुटी गाउँ सहजै देख्न सकिन्छ । 
 

See More On

सुझावित समाचार