बर्दियामा आदेशविनै गोली चल्यो : गृहमन्त्री

बुधबार, २५ जेठ, २०७९
डिजिटल संस्करण

मंगलबार प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको घटनामा आन्दोलनमा उत्रिएका नागरिकमाथि गोली चलाउने आदेश नदिएकोे बताएका छन् । मधुवन नगरपालिका–२, सोना गाउँ क्षेत्रमा सोमबार आफ्नो खेतमा काम गरिरहेको अवस्थामा चितुवाले आक्रमण गरेर स्थानीय अस्मिता थारू घाइते भएपछि स्थानीय आन्दोलनमा उत्रिएका थिए । बाघ र चितुवाको आक्रमण नियन्त्रण गर्नुपर्ने, तारजालीको व्यवस्था हुनुपर्नेलगायतको माग राखेर स्थानीयले सडक अवरुद्ध गरेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेको थियो । 

सडक अवरोध खोल्ने कोसिस गर्दा प्रहरीको गोली लागेर नवीना चौधरीको मृत्यु भएको थियो । ‘भीड उत्तेजित भयो । भीडले ढुंगामुढा पनि गर्यो । प्रहरीले पनि भीड नियन्त्रण गर्ने क्रममा केही अश्रुग्यास प्रयोग गर्यो र गोली पनि प्रहार गरेको छ, जसबाट नवीना चौधरीको निधन भएको छ,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको भनेका छन् । नागरिकको यस्तो अवरोध र भीडमा गोली चलाउने आदेश छैन ।’ गल्ती गर्नेलाई कारबाही गरिने मन्त्री खाणले प्रतिबद्धता जनाए । उनले घटनाको छानबिन गर्न समिति गठन भएको पनि बताए । समितिमा वन तथा वातावरण मन्त्रालयका उपमहानिर्देशक वेदकुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन् ।

महाभियोगको प्रक्रिया अघि बढाउन माग 
एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रक्रिया अघि बढाउन माग गरेको छ । मंगलबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा एमाले सांसद शान्ता चौधरी र खगराज अधिकारीले महाभियोग प्रस्ताव ११ सदस्यीय समितिमा पठाउन माग गरेका हुन् । १ फागुन ०७८ मा प्रधानन्यायाधीश जबराविरुद्ध संसद््मा महाभियोगको प्रस्ताव दर्ता भएको थियो । यससँगै जबरा निलम्बनमा परेका थिए ।

प्रधानन्यायाधीश जबरामाथि छानबिन गर्न २२ फागुनमा बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो । प्रतिनिधिसभाले एक चरण छलफल गरेर प्रस्ताव नपठाएसम्म समितिले काम गर्न सक्दैन । ‘सदनले छलफल गरेर प्रस्ताव नपठाएपछि हाम्रो मात्र बैठक बसेर काम छैन । बरू, प्रतिनिधिसभामा यो विषयले छिटो प्रवेश पाए हुन्थ्यो,’ लोसपा सांसद एकवाल मियाँले नयाँ पत्रिकासँग भने ।

विनियोजन विधेयकमाथि छलफल जारी
प्रतिनिधिसभामा बजेटमाथिको मन्त्रालयगत छलफल जारी छ । मंगलबारको बैठकमा श्रम मन्त्रालय, वन मन्त्रालय, पर्यटन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमाथि छलफल चल्यो । मन्त्रालयगत छलफलमा भाग लिँदै एमाले सांसद भीम रावलले निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउनुपर्ने बताए । विमानस्थलको काम रोकेको भन्दै उनले सर्वोच्च अदालतको समेत आलोचना गरे । ‘कोही–कोही मान्छे भन्छन्, अदालतको क्षेत्राधिकारभित्र गएर किन बोलेको ? नेपाल सरकारले खर्बौं रुपैयाँ लगानी गरिसकेको, तीन दशकदेखि अघि बढाएको योजना हो, यो । शक्तिपृथकीकरण न्यायपालिकालाई लाग्दैन ? सरकारले निर्णय गरिसकेपछि न्यायपालिकाले यत्रो ठूलो हानि पुर्याएर निर्णय गर्न मिल्छ ?’ उनले भने । रावलले इम्बोस्ड नम्बर प्लेट राख्नेबारे पुनर्विचार गर्न पनि सरकारसँग आग्रह गरे । 

कांग्रेस सांसद गगन थापाले इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णयलाई फिर्ता लिन पुनः सरकारसँग माग गरे । उनले सोमबारको बैठकमा पनि उक्त निर्णय व्यावहारिक नभएको टिप्पणी गरेका थिए । मन्त्रालयगत छलफलमा भाग लिँदै थापाले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई काठमाडौंको फोहोर व्यवस्थापनका जटिलताबारे संसद्को छलफलमा भाग लिन आग्रह गरे ।

‘अहिले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको नेतृत्वले प्रशंसायोग्य काम गरिरहनुभएको छ । यसैको परिणाम हिजो मात्र समझदारी भएको छ र फोहोर उठ्न थाल्यो भन्ने सुखद समाचार पायौँ,’ उनले भने, ‘सहरी विकासमन्त्रीलाई यहाँ आएर सदनलाई जानकारी गराउन आग्रह गर्छु ।’

सुझावित समाचार