आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ। मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई चार विकेटले पराजित गरेको हो।
भुटानले दिएको ६७ रनको चुनौतीलाई नेपालले १३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्याे। नेपालको जितमा सानु राजवंशीले सर्वाधिक ३० रनको योगदान दिइन्। त्यसैगरी साना प्रवीणले १२ रन जोडिन भने सृष्टि जैसीले आठ, आश्मा पुलामी मगरले तीन, कप्तान कृतिका मरासिनीले दुई तथा एलिसाकुमारी यादवले अविजित दुई रन बनाइन्। बलिङमा भूटानकी सांगे वाङ्वोले तीन विकेट लिइन् भने सोनम र अन्जुली घलेले एक–एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ६६ रन बनाएको थियो। भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वांमाेले समान ११ रन बनाए। त्यसैगरी पेमा याङ्चेनले नौ तथा छाडो ओमले ६ रन जोडिन्। बलिङमा नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनीषाकुमारी उपाध्यायले समान दुई–दुई विकेट लिए।
यस खेलसँगै तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार व्यहोरेको छ। नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)सँग १० विकेटले पराजित भएको थियो। युएईविरुद्धको खेलमा नेपाल आठ रनमा नै अलअउट भएको थियो। छनोट खेलमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन्। नेपालले भोलि थाइल्यान्डसँग खेल्नेछ। रासस