नेपाल प्रहरीले काठमाडौंको लैनचौरमा एक व्यक्तिलाई लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका– २६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिक खाजाघरमा पोखराका ४० वर्षीय एक व्यक्तिको साथबाट रु. ३५ लाख लुटपाट गर्ने नुवाकोट घर भई बुढानीलकण्ठ बस्ने २५ वर्षीय पेम्बा तामाङ र दाङ घर भई काठमाडौंको मालिगाउँ बस्ने ३४ वर्षीय शालिकराम नेपालीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पीडितलाई विभिन्न प्रलोभनमा पारेर खाजाघरमा बोलाएर लुटपाटमा संलग्न रहेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकासँग प्रहरीले मोबाइल एक थान, घडी एक थान र फलामको रड बरामद गरेको छ।
पक्राउ परेका तामाङ र नेपालीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार डाँका, चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए। लुटपाट घटनामा संलग्न फरार अन्य व्यक्तिको पहिचान खुलिसकेकाले उनीहरूलाई पनि चाँडै नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। रासस