गोरखाको धार्चे गाउँपालिका– ३ स्थित खोर्लाबेँसीमा १५ शय्याको सामुदायिक अस्पताल निर्माणको काम ८० प्रतिशत पूरा भएको छ। करिब तीन करोड लागतमध्ये गाउँपालिकाको ४० र छायाँ नेपाल संस्थाको ६० प्रतिशत लगानीमा अस्पताल निर्माण हुन लागेको हो।
छायाँ नेपालका परियोजना प्रबन्धक सन्तोष सिलवालका अनुसार अस्पतालको १ र २ नम्बर ब्लकको भुइँतला ढलान र गाह्रो लगाउने काम भइसकेको छ भने ब्लक नम्बर ३ र ४ को भुइँतला ढलान सम्पन्न गरी गाह्रो लगाउने काम भइरहेको छ। सोही क्रममा नेपालमा नै पहिलोपटक ‘स्विङ फ्लाइट्स’ प्रविधि (हेलिकाेप्टर)बाट सिमेन्ट, गिटी, बालुवा घोलेर तयार गरिएको ‘मसला’ बोकेर अस्पतालको भुइँतला ढलान गरिएको उनले बताए।
जेठ १९ गते सिम्रिक एयरका दुईवटा हेलिकप्टरबाट अस्पतालका लागि ‘मसला’ बोकेर ढलान गरिएको थियो। छायाँ नेपाल र सिम्रिक एयरसँगको सहकार्यमा निःशुल्क दुईवटा हेलिकाेप्टरले ५० ट्रिपभन्दा बढी ‘मसला’ ओसारेकाे सिलवालले जानकारी दिए।
सडक सञ्जाल नपुगेको दुर्गम ठाउँमा हेलिकाेप्टरबाट तयारी निर्माण सामग्री (मसला) लैजान कत्तिको सहज हुन्छ भन्ने परीक्षणका लागि पनि हेलिकाेप्टर प्रयोग भएको हो। हेलिकाेप्टरको प्रयोग सिम्रिक एयरले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको संस्थाले जनाएको छ।
धार्चे सामुदायिक अस्पताल निर्माणका लागि ०७६ पुसमा सम्झौता भएको थियो। तर, कोभिड महामारी, प्राकृतिक विपत्ति, बाढीपहिरोका कारण सडक अवरुद्धजस्ता कारण अस्पताल निर्माणकार्यमा ढिलाइ भएको परियोजना प्रबन्धक सिलवालले बताए। अस्पताल आउँदो पुस मसान्तसम्म निर्माण पूरा गरिसक्नुपर्नेछ।
अस्पताल निर्माण भएपछि दुई वर्ष आंशिक रूपमा सञ्चालन गर्ने र सन् २०२४ बाट पूर्ण रूपमा सञ्चालन गर्ने योजना रहेको पनि उनले बताए। अस्पताल सञ्चालनका लागि संस्थाले डाक्टर, हेल्थ असिस्टेन्ट, अनमी र कार्यालय सहयोगी एक–एकजना उपलब्ध गराउनेछ। उक्त अस्पतालमा दुई वर्षसम्म विशेषज्ञ डाक्टरसहितको सेवामा छायाँ नेपालले सघाउने र त्यसपछि गाउँपालिकाले व्यवस्थापन गर्ने दुईपक्षीय सम्झौता भएको छ।
छायाँ नेपालको दातृसंस्था अर्थकेयर स्विजरल्यान्डले विदेशी स्वयंसेवक डाक्टर ल्याएर गाउँगाउँमा स्वास्थ्य शिविरसमेत गर्ने जनाएको छ। अपांगमैत्री सामुदायिक अस्पतालको २१ वटा कोठा हुनेछ। धार्चे, चुमनुब्रीजस्ता दुर्गम ठाउँमा अस्पताल नभएकाले माछाखोलामा बन्ने सुविधा सम्पन्न हस्पिटलले दुर्गम भेगका सर्वसाधारणलाई सहज हुने अनुमान गरिएको छ। निर्माण भएपछि अस्पताललाई चाहिने आवश्यक स्वास्थ्य सामग्रीसमेत संस्थाले उपलब्ध गराउनेछ।