त्रिविमा १३२ दिनपछि फोडिएको ताला पुनः लगाइयो

शुक्रबार, २० जेठ, २०७९
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा १३२ दिनपछि फोडिएको ताला पुनःलगाइएको छ । त्रिविका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा १३२ दिनसम्म लागेको ताला फोडेको अर्को दिन पुनः बिहीबारदेखि लगाइएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न माग राख्दै गत माघ ७ गतेदेखि ताला लगाएका थियो । 

यस्तै, आंशिक शिक्षकले पनि उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा आफूहरूलाई दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा राख्नुपर्ने माग गर्दै माघ २० गतेदेखि ताला लगाएका थिए । नेविसंघ र आंशिक शिक्षकले लगाएको ताला यही जेठ १८ गते नेकपा (क्रान्तिकारी)ले फोडे पनि फेरि उनीहरूले हिजो संयुक्त रूपमा ताला लगाएका छन् । नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले त्रिविले आफूसँग गरिएको सम्झौता कार्यान्वयन नगरेकाले ताला लगाएको बताए । 

उनका अनुसार नेविसंघले पाठ्यक्रम परिवर्तन नगरेको, शैक्षिक क्यालेन्डर लागू नगरेको जनकपुरस्थित युथ क्याम्पसलाई ब्लाचलर अफ कम्प्युटर अप्लिकेसन (बिसिए) का सम्बन्धमा आर्थिक लेनदेन गरेकाले ताला लगाइएको हो । 

नेविसंघले उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको बर्खास्त वा राजीनामा माग गरेको छ । त्रिविले नेविसंघसँग वार्ता गर्नका लागि त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका निर्देशक पशुपति अधिकारीको संयोजकत्वमा तीनसदस्यीय वार्ता टोलीसमेत गठन गरेको छ । वार्ता टोलीका संयोजक अधिकारीले नेविसंघसँग सात–आठपटक वार्ता गरे पनि निष्कर्षमा नपुगेको बताए । 

See More On

सुझावित समाचार