यू-१९ महिला ट्वान्टी -२० विश्वकप : नेपालको विजयी सुरुवात

शुक्रबार, २० जेठ, २०७९
डिजिटल संस्करण

आइसिसी यू–१९ महिला ट्वान्टी -२० विश्वकप एसिया क्षेत्रको छनोट खेलमा कतारमाथि ७९ रनको जित निकाल्दै विजयी सुरुवात गरेको छ । मलेसियाको युकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १५.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३८ रन जोड्न सक्यो। मध्यम लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन जोड्नुबाहेक अन्य खेलाडीले राम्रो स्कोर छुन सकेनन् ।

कतारको इनिङलाई सस्तैमा समेट्न नेपालकी सृष्टि जैशीले सर्वाधिक ३ विकेट लिइन् । यस्तै अनु कडायत, कप्तान कृतिका मरासिनी र स्नेहा महराले २/२ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । नेपालका लागि आस्मा पुलामी मगरले अविजित रहँदै ३२ रन बनाइन् । यस्तै सृष्टि जैशीले अविजित २३ रन जोड्दा सानु राजवंशी २१ रन, अन्जली विश्वकर्मा ११ र किरणकुमारी कुँवर १ रन जोडेर पवेलियन फर्किए । नेपालको तीन विकेट निकाल्ने क्रममा कतारकी साची ढड्वाल र अलिना खानले १/१ विकेट लिए ।

छनोटमा आयोजक मलेसियासहित नेपाल, युएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकामा हुने प्रतियोगिताका लागि स्थान बनाउनेछ । अब नेपालले दोस्रो खेलमा युएईविरुद्ध शनिबार खेल्नेछ ।

सुझावित समाचार