गरिबको पहुँचमा छैन स्वास्थ्य उपचार

अत्यधिक रक्तश्रावपछि रोजिता विकको सुत्केरीमै दुवै मिर्गौलाले काम गर्न छाड्यो, दुई महिनाको शिशुको पनि मुटुमा समस्या देखिएपछि उपचारमा कठिनाइ

बिहिबार, १९ जेठ, २०७९
डिजिटल संस्करण
गरिबको पहुँचमा छैन स्वास्थ्य उपचार

सुत्केरीमा दुवै मिर्गौलाले काम गर्न छाडेपछि बिरामी परेकी रोजिता विश्वकर्मा । तस्बिर : नयाँ पत्रिका

झापाको मेचीनगर–१३, सुगम टोलकी १९ वर्षीया रोजिता विकले ११ चैतमा लाइफलाइन अस्पताल दमकमा छोरालाई जन्म दिइन् । छोरा जन्मिएपछि अत्यधिक रक्तश्राव भयो । अस्पतालले नसक्ने भन्दै नोबेल अस्पताल विराटनगर पठायो । नोबेलमा जाँच गर्दा कोरोना देखियो । नोबेलले उपचार नगरेर मेची अस्पताल पठायो । मेचीले रोजितालाई कोरोना नभएको र अवस्था खतरा भएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायो । धरान पुगेपछि उनको दुवै मिर्गौलाले काम नगर्ने पुष्टि भयो ।

‘पहिला केही पनि रोग थिएन । सुत्केरी हुँदा धेरै रगत गएकाले मिर्गौला ड्यामेज भएको भनेर डाक्टरले भनेका छन्,’ रोजिताकी सासू मनकुमारी विकले भनिन्, ‘एकैपटक यो खबर सुनेर छाँगाबाट खसेजस्तै भयो । घरकी एक्ली बुहारी यसरी बिरामी छे, कसरी मन मान्छ ।’रोजितालाई मिर्गौलामा समस्या देखिएपछि दुई महिना धरानस्थित अस्पतालमा राखियो । अस्पतालमा राख्दा करिब १५ लाख रुपैयाँ खर्च भइसकेको छ । विपन्न दलित परिवारले बल्लतल्ल त्यो रकम जोहो ग¥यो । ‘विदेश बस्दा दुई कट्ठा जग्गा यहाँ (मेचीनगर–१३ मा) किनेको थिएँ । सम्पत्तिको नाममा यति नै हो,’ उनका ससुरा धनबहादुर भन्छन्, ‘त्यही धितो राखेर ऋण लिएर बुहारीको उपचार गर्दै छु । २० को १९ भएको छैन । अब उपचार गर्ने पैसा पनि छैन ।’

विपन्न विक परिवार तराईमा केही गरेर खान सकिन्छ कि भनेर ६ वर्षअघि पहाडबाट झापा झरेको थियो । वरिपरि टिनले बेरा गरेर उनको परिवार बस्दै आएको छ । बर्खामा ठूलो पानी छेक्दैन, घरले । अरूको अधियाँ खेती र मजदुरी गरेर उनको परिवार चलेको छ । ‘दिनभर काम गरेर साँझ ल्याएर खाने परिवार हो, हाम्रो । काम नगरेको दिन के खाने भन्ने चिन्ता हुन्छ,’ मनकुमारी भन्छिन्, ‘एकैपटक यत्रो बज्रपात पर्दा अब के गर्ने भन्ने चिन्ता छ ।’ 

रोजिता त गम्भीर बिरामी भइन् नै, उनबाट जन्मिएको छोरा पनि स्वस्थ छैनन् । मुटुमा समस्या देखिएको र शल्यक्रिया गर्नुपर्ने भएकाले काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको छ । ‘जन्मिएको केही समयपछि नाति पनि बिरामी भयो । सुरुमा बिएन्डसी अस्पताल राख्यौँ । एक रातमै ७० हजार रुपैयाँ सकियो,’ मनकुमारी भन्छिन्, ‘यहीँ उपचार गर्न सक्ने भए पाँच लाख जम्मा गर्नु भने । नसक्ने भए काठमाडौं लानु भनेपछि नानीलाई काठमाडौं लगेका हौँ ।’

भर्खर १९ वर्ष मात्र पुगेकी रोजिता ओछ्यानमा छटपटाइरहेकी छन् । अहिले मेची अस्पतालमा उनको हप्तामा दुईपटक डायलाइसिस गर्नुपर्छ । ‘डायलाइसिस गर्न त निःशुल्क छ । लान र ल्याउन अनि औषधि गरेर हप्तामा दश हजार सकिन्छ,’ मनकुमारीले नयाँ पत्रिकासँग भनिन्, ‘भएको सबै सकियो । नातिलाई पनि उस्तै खर्च भइरहेको छ । अब के गर्ने हो, सोच्न पनि सकिएको छैन ।’

रोजिता एक्लै बाहिर–भित्र गर्न सक्दिनन् । उनलाई परिवारका एक सदस्यले सहारा दिनुपर्छ । ‘मिर्गौला नै फेर्न पाए त कतै बाँच्थेँ कि ! मलाई मर्न मन छैन,’ ओछ्यानमा थलिएकी रोजिता भन्छिन्, ‘मेरो नानी पनि देख्न पाएको छैन । मलाई बाँच्न मन छ । कसैले सहयोग गर्नुहुन्छ भन्ने आस छ । म बाँचिनँ भने त नानीको बिजोग हुन्छ ।’

सरकारले बजेट भाषणमार्फत विपन्नलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेको छ । तर, विपन्न दलित परिवारकी रोजिता उपचार गरिदिन याचना गरिरहेकी छन् । ‘बुहारी र नातिलाई जसरी पनि बचाउनु छ । तर, हामीसँग पैसा छैन । गरिबलाई साह्रै गाह्रो रहेछ,’ धनबहादुर भन्छन्, ‘सरकारले सहयोग गरे पनि हुने । केही गर्न नसकेपछि त आस पनि लाग्दो रहेछ ।’ 

अहिले उनीहरूलाई दुई महिनाको नातिको उपचार र बुहारीको डायलाइसिसका लागि पैसा जुटाउन पनि मुस्किल परेको छ । ‘नाति पनि अन्तिम अवस्थामा छ । राम्रो उपचार गर्न पाए त बचाउन सकिन्थ्यो होला,’ धनबहादुर भन्छन्, ‘बुहारीको त्यस्तै अवस्था छ । भएको सबै जग्गा जमिन बेच्दा पनि नपुग्ने ऋण लागेको छ । अब के गरेर उपचार गर्ने ? अब भएको घर मात्र बेच्न बाँकी छ । सुख खोज्न पहाडबाट आएको थिएँ । अब फेरि उतै फर्किनुपर्ला जस्तो छ ।’

सुझावित समाचार