प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाको विकासमा सरकार र कांग्रेसको साथ रहने बताएका छन् । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहसँग बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री देउवाले काठमाडौंको विकासका लागि आफू २४सै घन्टा तयार रहेको भन्दै आफूलाई सम्झन सक्ने बताएको मेयर साहका स्वकीय सचिव भूपदेव साहले जानकारी दिए । कांग्रेस सभापतिसमेत रहेका देउवाले महानगरको प्रमुखमा निर्वाचित भएकोमा साहलाई बधाई दिँदै महानगरको काममा सरकार र कांग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा साहले महानगरमा कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । महानगर प्रमुखको शपथ लिएपछि साहले प्रधानसेनापति प्रभुराम शर्मा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका छन् ।
भेटलाई गलत रूपमा नलिन साहको आग्रह
प्रधानमन्त्री देउवासँगको भेटपछि सामाजिक सञ्जालमा लेख्दै महानगर प्रमुख साहले आफूले गरिरहेको भेटलाई गलत रूपमा नबुझ्न अपिल गरेका छन् । काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्नका लागि भेटको थालनी गरेको उनको भनाइ थियो ।
‘हाम्रा लक्ष्यहरू विशाल र पवित्र छन् । आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत् सोचको आवश्यकता छ । यसका लागि सबैसँग सहकार्य अनिवार्य छ । राजनीतिक रूपमा हामीलाई यो अभियानमा केही सजिलो पनि छ । किनकि, स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिँदा मात्रै रहँदैन । स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ ।
सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ,’ उनले लेखेका छन्, ‘काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौँ । यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहनेछ । समय अनुकूलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ ।’