हजयात्राको शुल्क घटाउन इस्लाम धर्मावलम्बीको माग, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

बुधबार, १८ जेठ, २०७९
डिजिटल संस्करण

बाँकेका इस्लाम धर्मावलम्बीले नेपाली हजयात्रीका लागि सरकारले निर्धारण गरेको शुल्क अव्यावहारिक भएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् । साउदी अरबस्थित इस्लाम धर्मावलम्बीको पवित्र धार्मिक स्थल मक्कामदिनामा हज गर्न जाने नेपालीका लागि नेपाल हज कमिटीले तोकेको चर्काे शुल्कप्रति आपत्ति जनाउँदै इस्लाम धर्मावलम्बीले तत्काल सच्याउन सरकारसँग माग गरेका छन् । 

तोकिएको चर्काे शुल्कसम्बन्धी निर्णयको घोर निन्दा एवं भर्त्सना गर्दै विगतको भन्दा दोब्बर शुल्क बढाएर सरकारले हजयात्रीको मर्ममाथि ठेस पुर्याएको जनाएको छ । ‘दुई लाख २५ हजारमा गर्दै आएको हजयात्रालाई बढाएर चार लाख ६३ हजार तोक्नु आफैँमा अवैधानिक र बदनियतपूर्ण छ । यसले हजयात्रीको भावनामाथि ठेस पुर्याएको छ । धार्मिक आस्थामाथि आँच पुर्याउने काम सरकारले गरेको छ,’ नेपाल मुस्लिम इत्तेहाद संगठन, बाँकेले सरकारलाई पठाएको ज्ञापनपत्रमा उल्लेख छ ।

कोभिड– १९ का कारण गत दुई वर्ष हजयात्रा हुन सकेको छैन । यसपटक पनि कोभिड– १९ को जोखिम कम गर्न हजयात्रीको संख्या घटाइएको छ । ‘मक्कामदिनाका थुप्रै आवासका लागि घरहरू खाली रहने भएकाले हाल तोकिएको घरभाडा शीर्षक रकम धेरै हो । मोअल्लिम दस्तुर विगतभन्दा तेब्बर तोकिनु दुर्भाग्य मान्नुपर्छ,’ संगठनका अध्यक्ष मोहम्मद उमर हलवाईले भने । 

उनले हजयात्राका लागि केही इस्लाम धर्मावलम्बीले पहिले नै आवेदन दिएको बताउँदै उनीहरूले एक लाख २५ हजार रुपैयाँ बुझाइसकेको बताए । ‘आवेदनसँगै पहिले नै रकम बुझाएकाहरूको रकम हज कमिटीले तत्काल फिर्ता गर्नुपर्छ,’ उनले ज्ञापनपत्रमा उल्लेख गरेका छन् । 

नेपाली मुस्लिमहरूको हजयात्रालाई सहज र सुलभ बनाउन संगठनले माग गरेको छ। माग पूरा नभए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत ज्ञापनपत्रमार्फत दिइएको छ । ‘हजयात्राका लागि निर्धारण गरिएको शुल्क तत्काल समायोजन गरी हजयात्रालाई सहज र सरल बनाउन माग गर्दछौँ,’ अध्यक्ष हलवाईले भने ।

सुझावित समाचार