जिससमा तालमेलका लागि पोजिसन पत्ता लगाउने सत्तागठबन्धनको निर्णय

बुधबार, १८ जेठ, २०७९
डिजिटल संस्करण

पाँचदलीय सत्तारूढ गठबन्धनले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा तालमेलका लागि गठबन्धन दलको पोजिसनसम्बन्धी विवरण तयार गर्ने भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको मंगलबार बसेको बैठकले स्थानीय तह निर्वाचनको समीक्षासहित यस्तो निर्णय गरेको हो । 

समितिका सदस्यसचिव अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले जिसस र पालिकाहरूका कार्यपालिका निर्वाचनमा तालमेलका लागि संख्या र पोजिसनको विवरण तयार गर्ने निर्णय गरेको हो । जोशीले अब जिल्लागत रूपमा गठबन्धनमा रहेका दलको एकल र गठबन्धन दलको समग्र अवस्थासम्बन्धी विवरण तयार गरिनेछ ।

‘मुख्य रूपमा जिसस र निर्वाचन हुन बाँकी पालिका कार्यपालिकाको निर्वाचनमा गठबन्धनलाई कसरी लैजाने भन्नेमा मंगलबारको छलफल केन्द्रित भयो,’ जोशीले नयाँ पत्रिकासँग भने, ‘स्थानीय तहको निर्वाचनको परिणाममा आधारित भएर गठबन्धनको संख्या र पोजिसनको विवरण संकलन गर्ने र आवश्यकताअनुसार अघि बढ्ने निर्णय भएको छ ।’

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि स्थानीय तह निर्वाचनको विषयमा समीक्षा भएको जानकारी दिइन् । बैठकमा एकीकृत समाजवादीले भने गठबन्धन गर्दा अपेक्षाअनुसार मत नपरेको गुनासो गरेको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार एकीकृत समाजवादीका नेता विजय पौडेलले गठबन्धन दलबाटै अपेक्षाकृत मत पाउन नसकेको गुनासो गरेका थिए । बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट विजय पौडेल, जसपाबाट रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट पौडेललगायत सहभागी थिए । 

सुझावित समाचार