‘भोट हाल्न आयौँ, फेरि भारत फर्कियौँ’

मंगलबार, १७ जेठ, २०७९
डिजिटल संस्करण

दाङस्थित घोराही उपमहानगरपालिका– ११ जितपुरका चन्द्रबहादुर ओली १७ जेठमा भारतको सिम्ला फर्किए । उनी स्थानीय तह निर्वाचनमा मतदान गर्न घर आएका थिए । आफूलाई मन परेको उम्मेदवारलाई जिताएर कामका लागि भारत फर्किएको उनले बताए । उम्मेदवारले घरिघरि फोन गरेर बोलाएपछि मतदानकै लागि घर आएको उनको भनाइ छ । ‘भोट हाल्न घर आएको थिएँ । भोट हालेर उम्मेदवारलाई जितायौँ । जुन कामका लागि आएको थिएँ । सकिएपछि पुनः भारत फर्किन थालेँ,’ उनले भने । 

उम्मेदवारले गाउँमै रोजगारी सिर्जना गर्ने आश्वासन दिएको बताउँदै उनले तत्काल काम पाउने सम्भावना नदेखेपछि भारत जान लागेको उनले बताए । उनी २७ वर्षदेखि भारतको सिम्लामा बस्दै आएका छन् । 

सल्यानस्थित बाघचौर नगरपालिका– ५ बांगेलाकुरीका २८ वर्षीय कमल विष्ट पनि कामका लागि भारत गएका छन् । भोट हाल्न घर आएका उनी भारतको चण्डीगढमा चौकीदारीको काम गर्दै आएका छन् । ‘उम्मेदवारले खानेपानी र रोजगारीको व्यवस्था गर्ने आश्वासन दिएका थिए, तर तत्काल केही गर्न सक्ने छाँट देखिएन,’ उनले भने ।

जाजरकोट बारेकोटका ४८ वर्षीय जयबहादुर बस्नेत पनि १७ जेठमा भारत प्रस्थान गरे । २१ जना साथीभाइसँगै उनी भारतको हिमाञ्चल प्रदेशको कुल्लु पहाड जान लागेको बताए । उनी पनि स्थानीय तह निर्वाचनमा सहभागी हुन नेपाल आएका थिए । भोट हाल्न जानुपर्छ भनेर साथीभाइले करकाप गरेपछि नेपाल आएको उनले बताए । ‘उद्देश्य पूरा भएपछि फेरि भारत फर्किन थालेँ,’ उनले भने, ‘भोटको कदर राजनीतिक दल र जनप्रतिनिधिले गर्ने विश्वास छ ।’

नेपालमा रोजगारी नपाएकै कारण भारत जान बाध्य भएको बारेकोट गाउँपालिका- ७, पाथीहाल्ना, जाजरकोटका लालबहादुर चलाउनेले गुनासो गरे । उनले स्वदेशमा सेवा गर्ने चाहना हुँदाहुँदै कामका लागि विदेसिनु परेको बताए । ‘अर्काको देशमा गएर विदेशीको गुलामी गर्न मन थिएन तर पेट पाल्नका लागि भारत नगएर सुखै छैन,’ उनले भने, ‘हाम्रो लागि नेपालमै रोजगारी सिर्जना गर्नुपर्यो । हामीलाई स्वदेशमै काम गर्ने वातावरण हुनुपर्छ ।’

स्थानीय तहको निर्वाचन सकिएपछि भारत जानेको संख्या बढेको इलाका प्रहरी कार्यालय जमुनाहका सहइन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) कुलबहादुर विकले बताए । उनले मतदान सकिएपछि भारत जानेको संख्या बढेको बताए । 

पछिल्लो समय दैनिक ६–७ सय नेपाली कामको खोजीमा भारत पस्ने गरेको उनले जानकारी दिए । ‘बालबच्चा बोकेका महिला, युवा र अधवैँँसेहरू कामको खोजीमा लस्कर लागेर भारत गएको देखिन्छ,’ उनले भने । 

उनले भारत जानेमा अधिकांश सल्यान, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, जुम्ला, कालिकोटका भएको बताए । निर्वाचनका लागि आएकाहरू भोट हालेर फेरि भारत फर्किन थालेको उनीहरूले बताएका छन् । ‘पहिले भोट हाल्न आए । अहिले फर्किरहेका छन्,’ विकले भने भने । उनले भारत जानेमा युवाको संख्या धेरै भएको बताए ।

सुझावित समाचार