बजेटबारे नारायणकाजी श्रेष्ठकाे प्रश्न : प्रसारण लाइन एमसिसीको कि सरकारको ?

मंगलबार, १७ जेठ, २०७९
डिजिटल संस्करण
बजेटबारे नारायणकाजी श्रेष्ठकाे प्रश्न : प्रसारण लाइन एमसिसीको कि सरकारको ?

फाइल फाेटाे ।

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले १२बुँदे व्याख्यात्मक घोषणाको बारेमा हालसम्म एक शब्द पनि नबोलेको बताएका छन्। मंगलबार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन्।

लप्सीफेदी–रातमाटे–हेटौँडा–दमौली–बुटवल–गोरखपुर ४ सय केभीको प्रसारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाइने कुरा बजेटमा प्रस्तुत भएको उल्लेख गर्दै उनले एमसिसी योजनाअन्तर्गत हो वा एमसिसी खारेज भएको अर्थमा अर्थमन्त्री आफैँले प्रस्ताव राखेका हुन् भन्दै सरकारसँग जवाफ मागे। १२बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन खारेज हुने उल्लेख गरिएकोप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए।

उनले प्रसारण लाइन निर्माण गर्ने कार्य अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव भएको खण्डमा सरकार र अर्थमन्त्री धन्यवादको पात्र रहेको बताए। उनले सरकारले यसबारेमा स्पष्ट पार्न आवश्यक रहेको पनि उल्लेख गरे।

‘संसदबाट एमसिसी परियोजना पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा पारित गरिएको थियो। ठूला नेताहरूले १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति जनाएन भने त्यही दिन खारेज हुन्छ भनेका थिए। अमेरिकाले अहिलेसम्म मेरो जानकारीमा आउँदासम्म १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा एक शब्द बोलेको छैन। त्यसकारणले यो एमसिसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले यसरी आफैँले गर्ने प्रस्ताव राख्नुभएको हो भने मेरो व्यक्तिगततर्फबाट अर्थमन्त्री र सरकारलाई धन्यवाद छ। तर यो के हो प्रस्ट हुनुपर्छ,’ उनले भने।

नेता श्रेष्ठले सरकारले प्रस्तुत गरेको बजेटमा असन्तुष्टिसमेत रहेको बताए। बजेटमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन राम्रोसँग खुल्न नसकेको उनले बताए।
उनले बजेटमा सरकारले मितव्ययिता गुणत्मक ढंगको नीति लिन नसकेको तथा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको आरोपसमेत लगाए।

सुझावित समाचार