अकबरे खुर्सानीका किसानलाई बजारको चिन्ता

मंगलबार, १७ जेठ, २०७९
डिजिटल संस्करण
अकबरे खुर्सानीका किसानलाई बजारको चिन्ता

कटारी नगरपालिका–११ मा गरिएको व्यावसायिक अकबरे खुर्सानी खेती

वर्षभरि खान पुग्ने धान, मकै, कोदोलगायतका खेती छाडेर व्यावसायिक अकबरे खुर्सानी उत्पादनमा लागेका किसानलाई बजारको चिन्ताले पिरोल्न थालेको छ । उदयपुरको कटारी नगरपालिका–११, हर्देनी र १३ मयाँखुमा व्यावसायिक अकबरे खुर्सानी खेतीमा लागेका किसानलाई बजारको चिन्ताले पिरोल्न थालेको हो ।

अघिल्लो वर्ष अकबरे खुर्सानी खेतीबाट करिब डेढ सय किसानले प्रतिघर झन्डै तीनदेखि चार लाख आम्दानी गरेका थिए । त्यही देखेर दुईवटा वडाका झन्डै दुई हजार किसानले यस वर्ष अकबरे खुर्सानी खेतीतर्फ आकर्षित भएको नगरपालिका–११, गोठडाँडाका कृषक गोपाल राउतले बताए । उनी भन्छन्, ‘यसपटक अकबरे खुर्सानीको खेती गर्नेको संख्या झन्डै दुई हजार घरभन्दा माथि रहेको छ, उत्पादन बढ्ने भयो, कहाँ लगेर बेच्नु ? समस्या हुने भएको छ ।’

नगदे बालीमा अदुवा खेती गर्दै आएका यस क्षेत्रका किसान गएको वर्षदेखि खुर्सानी खेतीमा आकर्षित भएका छन् । राउत भन्छन्, ‘धान, मकै, कोदो, भटमासलगायतका खाद्यान्न बाली फल्ने खेतभरि अकबरे खुर्सानीको खेती छ । बिक्री भएन भने गाउँमा भोकमरी चल्ने देखिन्छ ।’

गत वर्ष कटारी नगरपालिका–११ का किसानले प्रतिकिलो दुई सय ५० रुपैयाँका दरले बिक्री गरेका थिए । अर्का स्थानीय कृषक ज्ञानबहादुर बस्नेत भन्छन्, ‘अघिल्लो वर्ष जिल्लाकै कटारी बजार, गाईघाट, घुर्मीलगायतका बजारमा यहाँको अकबरे बिक्री भएको थियो ? यसपटक उत्पादन धेरै हुने भएको छ ? कहाँ लगेर बेच्ने यही चिन्ता छ ।’ यो वर्ष यस क्षेत्रमा झन्डै ७० टनभन्दा बढी अकबरे खुर्सानी उत्पादन हुने उनको अनुमान छ । यसैगरी, अर्का स्थानीय जानबहादुर राउतले गएको वर्ष अकबरे खेतीबाट ६ लाख आम्दानी गरेर सात रोपनी जग्गा किनेको बताए । उनले भने, ‘यसपटक भएजति सम्पूर्ण जग्गामा अकबरे खुर्सानी खेती गरेर वार्षिक १५ लाख कमाउने योजनामा छु, बिक्री भएन भने तनाव हुनेछ ।’

अहिले त्यस क्षेत्रबाट काँचो अकबरे प्रतिकिलो दुई सय र पाकेको प्रतिकिलो तीन सय रुपैयाँले बिक्री भइरहेको छ । कटारी नगरपालिकाका कृषि शाखा प्रमुख एलिका मगरले कटारी नगरपालिकाको वडा नम्बर ८, ९, १०, ११ र १३ मा व्यावसायिक अकबरे खुर्सानीको खेती हुने गरेको बताइन् । उनले भनिन्, ‘ठूलो परिमाणमा कटारी ११ र १३ नम्बरमा रहेको छ । अन्य ठाउँमा विस्तार हुँदै गएको छ । यता जिल्लाको बेलका नगरपालिका, रौतामाई गाउँपालिकालगायतका क्षेत्रमा अकबरे खुर्सानीको खेती हुँदै आएको छ ।’ 

सुझावित समाचार